काठमाडौं । सर्वोच्च अदालतले राहदानी छपाइका लागि राहदानी विभागले गरेको ठेक्का प्रक्रिया तथा त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कानुनसम्मत रहेको ठहर गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले राहदानी विभागको ठेक्का प्रक्रिया र सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयविरुद्ध परेको रिट निवेदनमा यस्तो ठहर गरेको हो ।

राहदानी विभागले जर्मनी कम्पनी भेरिडोसलाई राहदानी छपाइको ठेक्का दिएपछि प्रतिस्पर्धी फ्रान्सेली कम्पनी आइडिमियाले त्यसविरुद्ध सार्वजनिक खरिद पुनरावलोकन कार्यालय हुँदै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्चले आइडिमियाले दायर गरेका तीनवटा रिट निवेदन खारेज गरेको छ ।

त्यस्तै, राहदानी सुरक्षण मुद्रण केन्द्रमै छापिनुपर्ने मागसहित दायर अर्को रिटमा भने सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेको छ ।

सर्वोच्चको फैसलाले राहदानी खरिदसम्बन्धी ठेक्का प्रक्रिया कानुनी रूपमा वैध रहेको देखाएपछि यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा कायम गरिएको बिगो दाबीमाथि समेत प्रश्न उठेको छ ।

अख्तियारले भ्रष्टाचार मुद्दामा वास्तविक रूपमा भुक्तानी भएको रकमलाई आधार बनाउनुको सट्टा ठेक्का रकमलाई नै भ्रष्टाचारबाट भएको क्षति वा बिगोका रूपमा गणना गरेको देखिन्छ । अख्तियारले आरोपित सबै व्यक्तिविरुद्ध एकमुष्ट १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरेको छ ।

तर, राज्यकोषमा वास्तविक रूपमा भएको नोक्सानीको हदसम्म मात्रै बिगो कायम गर्नुपर्ने विषयमा सर्वोच्च अदालतका विभिन्न फैसलामा नजिरहरू स्थापित भएका छन् । यही कानुनी सिद्धान्तको सन्दर्भमा अख्तियारले कायम गरेको बिगोको आधार र गणनामाथि प्रश्न उठ्ने अवस्था देखिएको छ ।

अख्तियारकै अभियोगपत्रअनुसार आरोपितहरूसँग असुल गर्नुपर्ने बिगो र सोही बराबर जरिवानाको मागदाबी गरिएको रकम करिब १८ करोड ४४ लाख रुपैयाँ रहेको छ । यससँगै, करिब साढे १८ करोड रुपैयाँ मात्रै भुक्तानी भएको स्वीकार गर्ने अख्तियारले ठेक्का रकमकै आधारमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी बिगो कसरी कायम गर्‍यो भन्ने प्रश्नसमेत उठेको छ ।

अभियोगपत्रमा राज्यकोषमा वास्तविक रूपमा भएको नोक्सानी र ठेक्का रकमबीचको अन्तरलाई पर्याप्त रूपमा स्पष्ट नगरेको भन्दै अख्तियारको बिगो निर्धारणको आधारमाथि कानुनी प्रश्न उठाउने ठाउँ देखिन्छ ।

यस प्रकरणमा ठेक्का पाउने कम्पनीहरू म्यूलबैर र भेरिडोस विरुद्ध बिगो कायम गर्ने अख्तियारको आधारमाथि पनि प्रश्न उठेको छ ।

अख्तियारले म्यूलबैरका नेपाली एजेन्ट मणिन्द्रराज मल्लविरुद्ध दायर गरेको अभियोगमा ठेक्का रकमकै बराबर अर्थात् एक अर्ब ९० करोड रुपैयाँलाई बिगो कायम गरेको छ ।

यसरी एकातर्फ सर्वोच्च अदालतले राहदानी खरिदका लागि गरिएको ठेक्का प्रक्रिया र त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णयलाई कानुनसम्मत ठहर गरेको छ भने अर्कोतर्फ सोही प्रकरणमा अख्तियारले कायम गरेको बिगोको आधार, रकम निर्धारणको प्रक्रिया र राज्यलाई भएको भनिएको क्षतिको गणनाबीचको सम्बन्ध थप बहसको विषय बनेको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com