काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री शाहको यसपटकको विदेश भ्रमणका क्रममा विमानस्थलमा विगतमा देखिँदै आएको औपचारिक बिदाइको दृश्य भने नदेखिने भएको छ । उनले नेपाली सेनाको सलामी नलिने तथा मन्त्री, सरकारी अधिकारी र उच्चपदस्थ कर्मचारीहरू विमानस्थलमा लामबद्ध भएर बिदाइ गर्ने परम्परासमेत नरहने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार अब प्रधानमन्त्री विदेश जाँदा र फर्किँदा सरकारी पदाधिकारी तथा कर्मचारी विमानस्थलमा ताँती लागेर बिदाइ तथा स्वागत गर्ने परम्परा तोडिनेछ ।

प्रधानमन्त्री शाह मंगलबार बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित काममा व्यस्त रहनेछन् । साँझ करिब ७ बजे उनी बालुवाटारस्थित निवासबाट विमानस्थलतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार शाह विमानस्थल पुग्नुअघि नै भ्रमण टोलीका सदस्यहरू त्यहाँ पुगिसक्नेछन् । प्रधानमन्त्रीले भीआईपी कक्षतर्फको बाटो प्रयोग गरी सोझै विमानमा प्रवेश गर्नेछन् ।

‘भीआईपी कक्षको बाटो हुँदै प्रधानमन्त्रीज्यू सरासर हवाईजहाजमा चढ्न जानुहुनेछ, भीआईपी कक्षमा समय बिताउनुहुन्न,’ स्रोतले भन्यो, ‘उहाँ चढे लगत्तै जहाज काठमाडौंबाट उड्नेछ ।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहको भ्रमणको मुख्य उद्देश्य संयुक्त राष्ट्रसंघको महासभामा नेपालको धारणा राख्नु हो । महासभामा उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति, भोटेकोशी बाढीको विपद् तथा जलवायु न्यायको विषय उठाउने तयारी गरिएको छ ।

प्रधानमन्त्रीको यसपटकको भ्रमण जलवायु संकट, जलवायु न्याय तथा नेपालले भोगिरहेको विपद्को विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने उद्देश्यमा केन्द्रित रहनेछ ।

यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा वा फर्किँदा मन्त्रीदेखि उच्चपदस्थ कर्मचारीसम्म विमानस्थल पुगेर औपचारिक बिदाइ तथा स्वागत गर्ने परम्परा रहँदै आएको थियो । त्यसक्रममा विमानस्थलमा सरकारी अधिकारीहरूको ठूलो भीडसमेत देखिने गरेको थियो ।

प्रधानमन्त्री कार्यालय स्रोतले भने यसपटक त्यस्तो तामझाम नगर्ने जनाएको छ ।

‘उहाँले संविधान दिवसको दिनमै पनि पुराना कुरा छाड्छौं भन्नुभएको कुरा तपाईंलाई थाहै होला,’ स्रोतले भन्यो, ‘स्वागत र बिदाइमा तामझाम गर्ने स्वभाव प्रधानमन्त्रीज्यूको छैन र अहिलेको विपद्को बेलामा अरूले पनि त्यस्तो गर्नु उचित हुँदैन ।’

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com