काठमाडौं । सोमबार त्रिपुरेश्वरमा भएको बस आगजनी घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ रहेको पुष्टि भएको छ ।

ट्राफिक प्रहरीसँग विवाद भएपछि आफूले चलाएको बसमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेका तामाङ आगलागीमा परी गम्भीर घाइते भएका थिए । उनको गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानबाट तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा रहेको खुलेको छ । उनका बुबा श्यामबहादुर दोङ तामाङ र आमा बिनु तामाङ रहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि दुई घटनामा संलग्न रहेको प्रहरीको दाबी

प्रहरी अनुसन्धानका क्रममा तामाङ यसअघि पनि दुई छुट्टाछुट्टै घटनामा संलग्न रहेको खुलेको एसएसपी घिमिरेले बताए । ती घटनामा उनले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजुमा बस दुर्घटना हुँदा तीन जना घाइते भएको घटनामा तामाङ संलग्न थिए । उक्त घटनापछि उनी फरार भएको र त्यसक्रममा सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

त्रिपुरेश्वर घटनामा दाबा लामाको लाइसेन्स

त्रिपुरेश्वरमा भएको पछिल्लो घटनामा भने तामाङले दाबा लामाको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट उक्त अनुमतिपत्र भेटिएपछि प्रहरीले सुरुमा मृतकलाई दाबा लामा भएको जानकारी सञ्चारमाध्यमलाई दिएको थियो । थप अनुसन्धानपछि मृतक अर्जुन दोङ तामाङ रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

एसएसपी घिमिरेका अनुसार अनुसन्धानका क्रममा अर्जुनले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गर्दै आएको तथ्य फेला परेको छ ।

अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र, सवारीचालक अनुमतिपत्र तथा अन्य कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com