काठमाडौं । लोकेसन डेटा प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको भन्दै आयरल्यान्डको डेटा प्रोटेक्सन कमिसन (डीपीसी)ले प्रविधि कम्पनी गुगललाई ४० करोड ३० लाख युरो अर्थात् करिब ७० अर्ब नेपाली रुपैयाँ जरिवाना गरेको छ ।

डीपीसीका अनुसार गुगलले प्रयोगकर्ताको लोकेसन डेटा कानुनी, निष्पक्ष र पारदर्शी ढंगले प्रयोग नगरेको अनुसन्धानबाट देखिएको छ । युरोपका विभिन्न उपभोक्ता अधिकार संगठनले गरेको उजुरीपछि करिब ६ वर्षअघि सुरु भएको अनुसन्धानका आधारमा जरिवाना गरिएको हो ।

अनुसन्धान गुगलका ‘वेब एन्ड एप एक्टिभिटी’, ‘लोकेसन हिस्ट्री’ र ‘लोकेसन एकुरेसी’ लगायत सुविधामा प्रयोग भएको लोकेसन डेटासँग सम्बन्धित थियो । अनुसन्धानले २५ मे २०१८ देखि ४ फेब्रुअरी २०२० सम्मको डेटा प्रयोगलाई समेटेको थियो ।

डीपीसीका डेपुटी कमिसनर ग्राहम डोयलले लोकेसन डेटाबाट व्यक्तिका बारेमा अत्यन्त संवेदनशील र निजी जानकारीसमेत प्राप्त हुन सक्ने भएकाले यसको प्रयोगमा पारदर्शिता र कानुनी आधार आवश्यक रहेको बताएका छन् । आयोगले गुगलको डेटा प्रयोगले युरोपेली संघको जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

गुगलले भने जरिवाना पुराना नीतिसँग सम्बन्धित रहेको प्रतिक्रिया दिएको छ । कम्पनीका अनुसार सन् २०१९ यता लोकेसन डेटा व्यवस्थापन गर्ने तरिकामा व्यापक परिवर्तन गरिएको छ र प्रयोगकर्तालाई आफ्नो डेटा नियन्त्रण गर्न थप सहज हुने उपकरणहरू उपलब्ध गराइएको छ ।

गुगलले प्रयोगकर्तालाई तीन, १८ वा ३६ महिनाको अवधिमा डेटा स्वतः मेटिने गरी सेट गर्न सकिने ‘अटो–डिलिट’ सुविधा तथा व्यक्तिगत विज्ञापन बन्द गर्न सकिने विकल्पसहित डेटा सुरक्षाका विभिन्न उपाय लागू गरिएको जनाएको छ ।

कम्पनीले लोकेसन डेटा र खाता सेटिङ्ससम्बन्धी जानकारीलाई थप पारदर्शी बनाउँदै प्रयोगकर्तालाई आफ्नो निजी डेटा व्यवस्थापनमा बढी नियन्त्रण दिने व्यवस्था गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com