काठमाडौं । प्रतिनिधिसभा सदस्य रचना खतिवडाले आफू राजनीतिक रहर वा पदको लालचले सांसद नबनेको बताएकी छन् । जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले न्याय पाउनुपर्ने विषयमा सरकारलाई निरन्तर खबरदारी गर्न आफू संसदमा आएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले आफ्नै छोरासहित जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाको बलिदान खेर जान नदिन आफूले संसद्को बाटो रोजेको बताइन् ।
‘कुनै राजनीतिक रहर या पदको लालच थिएन । यो मेरो न्याय खोज्ने यात्रा थियो,’ उनले भनिन्, ‘मेरो कोखमा नौ महिना हुर्किएको, ताते–ताते गर्दै मेरा आँखासामु बढेको मेरो मुटुको टुक्रा तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो।’
उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो घरसम्म आएको र प्रधानमन्त्रीले पटक–पटक आग्रह गरेपछि आफू सांसद बनेकी हुन् । अन्य जेनजी युवाका सन्तानले पनि आफ्नो छोराले जस्तै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफू संसदमा आएको उनले बताइन् ।
खतिवडाले जेनजी आन्दोलनका सहिदहरूले पूर्ण न्याय पाए आफू सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताइन् ।
‘जुन दिन जेनजी आन्दोलनका सहिदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिच्किचाहट हुने छैन,’ उनले भनिन् ।
आफूलाई ‘छोराको लाससँग सांसद पद साट्न आएको’ भनेर गरिएको टिप्पणीप्रति भने खतिवडाले आपत्ति जनाइन् । यस्तो टिप्पणीले आफूलाई स्तब्ध बनाएको बताउँदै उनले आमाको पीडामाथि राजनीतिक प्रहार नगर्न आग्रह गरिन् ।
‘तपाईंहरूका छोराछोरी तपाईंसँग छन् । उनीहरूसँग हाँस्न, खेल्न र भविष्य देख्न पाउनुहुन्छ । तर मेरो संसार उजाडिएको छ, मेरो काख रित्तिएको छ,’ उनले भनिन् ।
आफ्नो छोरालाई जीवित अवस्थामा फर्काएर काखमा राखिदिए आफू तत्काल सांसद पद त्याग्न तयार रहेको पनि उनले बताइन् ।
खतिवडाले आफूलाई आरोप लगाउनुअघि एक आमाको पीडा बुझ्न आग्रह गरिन् । ‘छोराको लाससँग पद साट्न आएकी’ जस्ता शब्द प्रयोग गर्नुअघि हजारपटक सोच्न आग्रह गर्दै उनले आमाको माया र ममतामाथि राजनीतिक प्रहार नगर्न चेतावनी दिइन् ।
आफू सामान्य नागरिकलाई उचालेर आपसमा लडाएर नेता बन्न वा ‘मेडिकल माफिया’ बन्न राजनीतिमा नआएको उनको भनाइ थियो ।
‘म खबरदारी गर्न आएकी हुँ । मेरो छोरो सहिद भयो, मैले अब मेरो छोरो जस्तो अरू छोरा मर्न नपरोस् भन्ने चाहना लिएर यहाँ आएकी हुँ,’ उनले भनिन् ।
सरकारसँग आफ्ना पनि धेरै प्रश्न र असन्तुष्टि रहेको उल्लेख गर्दै खतिवडाले आफू जिम्मेवार ढंगले प्रस्तुत हुने बताइन् । जेनजी सहिदकी आमाको अपमान हुँदा सरकार के हेरेर बसेको छ भन्दै उनले सरकारसँग प्रश्नसमेत गरिन् ।
‘हाम्रा छोराहरूको रगत अझै सुकेको छैन । न्यायको आभास हुने गरी काम गर्नुहोस्,’ खतिवडाले सरकारसँग आग्रह गरिन् ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया