काठमाडौं । त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा मृत्यु भएपछि यातायात क्षेत्रका संगठनहरूले सरकारसमक्ष ९ बुँदे माग अघि सारेका छन् ।
छ वटा प्रमुख महासंघ तथा संघ–संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका छन् । आगलागीबाट क्षति भएको सवारीसाधनका धनीलाई समेत क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।
घटना सुरु भएदेखि आगलागीसम्मको सम्पूर्ण घटनाक्रमको निष्पक्ष छानबिन गर्न सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र फोन सम्पर्कलगायत प्रमाणका आधारमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न संगठनहरूले माग गरेका छन् । छानबिनबाट दोषी देखिने व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ ।
यातायात श्रमिकलाई श्रम ऐन, २०७४ अनुसार अनिवार्य रोजगार सम्झौता र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन् ।
त्यस्तै, ट्राफिक प्रहरीबाट हुने भनिएको दुर्व्यवहार, मानसिक दबाब र कानुनी हैरानीको गुनासो सम्बोधन गर्न २४ घण्टे हेल्पलाइन तथा द्रुत न्यायिक सुनुवाइ संयन्त्र स्थापना गर्नुपर्ने माग अघि सारिएको छ ।
ट्राफिक प्रहरीको चेकिङ तथा कारबाही प्रक्रियाको निष्पक्ष अनुगमनका लागि सरोकारवाला सम्मिलित संयन्त्र गठन, सवारीसम्बन्धी कानुनी कारबाहीको अधिकार पुनर्व्यवस्थित तथा श्रमिकको जीवन र पेसागत मर्यादा सुनिश्चित गर्नुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख छ ।
यसका साथै देशभर व्यवस्थित बसबिसौनी, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गर्नुपर्ने माग गरिएको छ । माग तत्काल सम्बोधन नभए कडा तर शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै संगठनहरूले संयुक्त संघर्ष समिति गठन गरेको जनाएका छन् ।
प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया