काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले रसुवा–भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा सरकारले पर्याप्त तत्परता नदेखाएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शाहीले सुरुङभित्र मानिस फसेको जानकारी पाएपछि तत्काल उद्धारमा जुट्नुपर्ने भए पनि सरकारी संयन्त्रबाट ढिलाइ भएको दाबी गरे । उनले यस्तो ढिलाइ राज्यको कमजोरी भएको बताए ।

शाहीका अनुसार आफूहरूले सुरुङभित्र मानिस फसेको जानकारी घटनाको चार घण्टामै सरकारलाई गराएका थिए । त्यसको १२ घण्टाभित्र गृहमन्त्रीसँग समेत भेटेर उद्धारका लागि आग्रह गरिएको उनले बताए ।

तर उद्धार प्रक्रिया अघि बढ्न २४, ४८, ७२, १४४ हुँदै १६८ घण्टा र २६४ घण्टासम्म लागेको उनको दाबी थियो ।

‘सुरुङभित्र फसेका मानिस बाढीको भेलमा बगिरहेका थिएनन् । उनीहरू त्यहीँ थिए, अँध्यारोभित्र थिए । सायद एउटा सानो आशा बोकेर बसेका थिए– सरकार आउँछ, मेरा मान्छे आउँछन् र मलाई बचाउँछन् भनेर,’ शाहीले भने ।

उनले उद्धारका लागि सुरुङ विज्ञसँग तत्काल परामर्श गर्न, निजी क्षेत्रको सहयोग लिन तथा आवश्यक परे विदेशी उद्धार टोली र उपकरण झिकाउन सकिने भए पनि सरकारले त्यसतर्फ पर्याप्त पहल नगरेको आरोप लगाए । आवश्यक उपकरण सुरुङसम्म पुर्‍याउनसमेत ढिलाइ भएको उनको भनाइ थियो ।

शाहीले जुम्लामा करिब २०० मिटर लामो सुरुङभित्र फसेका चार जनालाई ४८ घण्टाभित्र जीवितै उद्धार गरिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे । उक्त घटनाले सुरुङभित्र फसेका व्यक्तिको समयमै उद्धार सम्भव हुने देखाएको उनले बताए ।

‘त्यहाँ जीवन थियो, त्यहाँ सास थियो, त्यहाँ उद्धारको सम्भावना थियो । तर सरकारले उनीहरूसँग सामान्य कुरा पनि सुनेन,’ उनले भने ।

सुरुङको मुखमा उपकरण पुग्नै सात दिन लागेको दाबी गर्दै शाहीले त्यस अवधिलाई सम्भावित जीवन जोगाउन सकिने महत्वपूर्ण समय गुमेको रूपमा व्याख्या गरे ।

‘हामीले त्यहाँ केवल सात दिन गुमाएका थिएनौँ, हामीले सम्भावित जीवनका सात दिन गुमाएका थियौँ,’ उनले भने ।

सुरुङ खुलेपछि पनि पीडित परिवारका सदस्यहरू आफ्ना आफन्तलाई जीवितै घर फर्काउन नसकेको र शव मात्र बाहिर निकालिएको भन्दै शाहीले परिवारको पीडाप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरे । आफ्नो परिवारका सदस्यसमेत सुरुङभित्र फसेको उल्लेख गर्दै उनले उद्धारको प्रत्येक प्रयाससँगै जीवितै फर्कने आशा कमजोर हुँदै गएको बताए ।

राज्यसँग पर्याप्त सुरक्षा जनशक्ति, सरकारी संयन्त्र र आर्थिक स्रोतसाधन हुँदाहुँदै पनि समयमै ती स्रोत परिचालन हुन नसकेको शाहीको आरोप थियो । सांसदहरूले व्यक्तिगत पहल गर्न सक्ने भए पनि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने अधिकार सरकारसँग रहेको भन्दै उनले उपलब्ध सबै स्रोतसाधन प्रयोग गर्न आग्रह गरे ।

आवश्यक परे विदेशबाट विशेषज्ञ र उपकरण ल्याएर भए पनि मानिसको सास बाँकी हुँदासम्म उद्धारमा जुट्नुपर्ने उनको भनाइ थियो ।

शाहीले आफ्नो अभिव्यक्ति राजनीतिक स्वार्थबाट प्रेरित नभएको पनि स्पष्ट पारे ।

‘यो सत्ता पक्ष र प्रतिपक्षको प्रश्न होइन । मान्छेको सास बाँकी हुँदा राज्य किन पुगेन ?’ उनले प्रश्न गरे ।

समयमै उद्धार हुन नसकेको भन्दै उनले सरकारको विपद् उद्धार तथा व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाए । शाहीले भने, ‘सरकारले सुरुङभित्र मान्छेको हत्या गर्‍यो।’

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com