काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा रहेको उल्लेख गर्दै त्यसको सामना गर्न राष्ट्रिय एकता र पार्टी एकता अपरिहार्य रहेको बताएका छन्।

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ज्ञवालीले वर्तमान चुनौतीको समाधानका लागि पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्रको एकता आवश्यक रहेको बताए। त्यसको अगुवाइ एमालेले गर्नुपर्ने उनको भनाइ थियो।

ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति भएको दाबी गर्दै दीर्घकालमा त्यस्तो राजनीतिक प्रवृत्ति असफल हुने बताए। तर रास्वपा असफल हुँदैमा एमाले स्वतः सफल हुने अवस्था नरहेको भन्दै उनले एमाले आफैँलाई सुदृढ र रूपान्तरित गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवै भूमिकाबाट बाहिर राख्ने प्रयास भइरहेकाले त्यसलाई सामना गर्न पार्टीभित्र बलियो एकता र संगठनात्मक सुदृढीकरण आवश्यक छ।

ज्ञवालीले पार्टी पुनर्जागरणको पहिलो आधार आन्तरिक एकता भएको बताए। पार्टीभित्र वैचारिक समस्या नरहे पनि कतिपय विषयमा दृष्टिकोणको भिन्नता रहेको उनको भनाइ थियो।

निर्वाचनपछि विकसित बहसले पार्टीभित्र ध्रुवीकरण बढाएको र त्यसबाट भावनात्मक विभाजनको अवस्था सिर्जना भएको उनले बताए। निर्वाचन परिणामलाई सामूहिक चुनौतीका रूपमा लिएर जनतामा आशा र भरोसा जगाउनुपर्ने समयमा पार्टीभित्र अस्वस्थ अवस्था देखिनु चिन्ताको विषय भएको उनले उल्लेख गरे।

पुनर्गठनसम्बन्धी बहस व्यक्ति केन्द्रित हुँदै गएको भन्दै ज्ञवालीले पार्टीका सबै समस्याको कारण अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै देखाउने प्रयास भइरहेको बताए। यस्तो अवस्थाले पार्टीका नियमित कामसमेत प्रभावित भएको उनको भनाइ थियो।

उनले कार्यदलको प्रतिवेदनलाई पार्टी एकताको आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिए। त्यसको नेतृत्व अध्यक्ष ओलीले गर्नुपर्ने धारणा राख्दै ज्ञवालीले ओली अब आन्तरिक संघर्षमा केन्द्रित हुनुभन्दा योजनाबद्ध नेतृत्व विकास र पार्टीभित्र भावनात्मक एकता निर्माणमा लाग्नुपर्ने बताए।

एमालेले पछिल्लो समय व्यहोरेको धक्काको प्रमुख कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको ज्ञवालीले बताए। स्थानीय तहमा देखिने प्रतिस्पर्धा, अपेक्षा र त्यसबाट उत्पन्न द्वन्द्वलाई उचित ढंगले व्यवस्थापन गर्न नसक्दा समस्या थपिएको भन्दै उनले प्रतिस्पर्धापछि पुनः बलियो एकता कायम गर्ने नयाँ विधि विकास गर्नुपर्ने बताए।

ज्ञवालीले कार्यदलको प्रतिवेदनमा समेटिएका कार्यभारसँगै जनजीविकाका मुद्दालाई पनि पार्टीको प्राथमिकतामा राख्नुपर्ने बताए। जनतासँगको सम्बन्ध थप मजबुत बनाउन रोजगारी, शिक्षा, स्वास्थ्य, महँगीलगायत जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा पार्टी केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

बैठकमा चर्चामा आएको ‘प्रदीप ज्ञवालीको प्रतिवेदन’बारे स्पष्ट पार्दै उनले आफ्नो कुनै छुट्टै प्रतिवेदन नरहेको बताए। पार्टीभित्र समस्या देखिएका बेला समन्वयकारी भूमिका निर्वाह गर्नु आफ्नो जिम्मेवारी भएको उनको भनाइ थियो।

ध्रुवीकरण चर्किएको अवस्थामा कुनै एक पक्षमा उभिएर अतिवादी धारणा सार्वजनिक गर्दा सञ्चारमाध्यममा चर्चा पाउन सकिए पनि त्यसले पार्टीको समस्या समाधान नगर्ने ज्ञवालीले बताए।

पार्टीभित्रका विषयलाई सञ्चारमाध्यममार्फत विवादको विषय बनाउने र असहमतिलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति पनि उनले असन्तुष्टि जनाए। यस्तो प्रवृत्तिले क्षणिक चर्चा दिलाउन सक्ने भए पनि दीर्घकालीन र बलियो नेतृत्व निर्माणमा योगदान नपुर्‍याउने उनको भनाइ थियो।

प्रकाशित मिति: ७ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com