बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ। करेन्ट लागेका बालकलाई उद्धार गर्ने क्रममा चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश राम आफ्नै घरमा टिभी चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। टिभीको तार सर्ट भएर करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर, अस्पताल पुर्‍याउँदा चिकित्सकले ईसीजी परीक्षण गरी उनको मृत्यु भइसकेको पुष्टि गरेको डीएसपी घलेले बताए।

आकाशलाई करेन्टबाट छुटाउने क्रममा थप चार जना घाइते भएका छन्। घाइते हुनेमा मृतककी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया, १२ वर्षीया दिदी निलम राम, स्थानीय पाचु रामकी ४० वर्षीया श्रीमती फूलकुमारी राम र बिगम शर्माकी ४१ वर्षीया श्रीमती अनिता शर्मा छन्।

ऐतबरिया, निलम र फूलकुमारीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बारागढीबाट इन्स्पेक्टर सविनकुमार कार्कीको नेतृत्वमा थप प्रहरी टोली खटाइएको डीएसपी घलेले जानकारी दिए।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com