किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आफ्नै भूमिमा उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन् ।

जेलेन्स्कीका अनुसार ट्रम्पले पछिल्लो भेटमा निर्णय भइसकेको जानकारी दिँदै युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनका लागि आवश्यक अनुमति दिने बताएका हुन् । रुसका ब्यालिस्टिक मिसाइल रोक्न प्याट्रियट प्रणाली प्रभावकारी मानिए पनि युक्रेनले यस्ता मिसाइलको अभाव झेलिरहेको छ ।

यसअघि जुलाईमा ट्रम्पले युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिन सकिने संकेत गरेका थिए । तर पछि उनले निर्णयअघि अमेरिकाले यस विषयमा सावधानीपूर्वक विचार गर्नुपर्ने बताएका थिए ।

अमेरिका–इजरायल र इरानबीच भएको युद्धका क्रममा केही हवाई प्रतिरक्षा प्रणालीका आपूर्ति अन्यत्र मोडिएपछि युक्रेनमा प्याट्रियट इन्टरसेप्टर मिसाइलको अभाव थपिएको युक्रेनको भनाइ छ ।

उत्पादनको अनुमति पाए पनि तत्कालको आवश्यकता पूरा गर्न भने समय लाग्ने जेलेन्स्कीले बताएका छन् । नयाँ औद्योगिक क्षमता स्थापना गर्न एक वर्षभन्दा बढी लाग्न सक्ने भएकाले युक्रेनले आगामी हिउँदअघि नै अमेरिकासँग थप सैन्य सहयोग मागिरहेको छ ।

रुसले विद्युत् तथा ताप आपूर्ति संरचनामा पुनः आक्रमण गर्न सक्ने चिन्ताबीच युक्रेनले आफ्नै ब्यालिस्टिक मिसाइल प्रतिरोधी प्रणाली विकासलाई पनि अघि बढाएको छ । जेलेन्स्कीका अनुसार ‘फ्रेयाम’ नामक आफ्नै प्रतिरक्षा प्रणाली निर्माणमा काम भइरहेको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com