काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा आयोजित ‘समूह(७७ र चीन’ को ५०औँ वार्षिक बैठकमा उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्री खनालले बहुपक्षीयतालाई सुदृढ गर्न एकता र सामूहिक प्रयासलाई नवीकरण गर्नुपर्नेमा जोड दिँदै ग्लोबल साउथको आवाजलाई प्रभावकारी रूपमा उठाउनुपर्ने बताए ।

उनले संयुक्त राष्ट्रसंघ केन्द्रित नियममा आधारित बहुपक्षीय प्रणालीलाई थप सुदृढ गर्न, पर्याप्त तथा सुलभ वित्तीय स्रोत, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिमार्फत दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनलाई तीव्रता दिनुपर्ने उल्लेख गरे । आर्थिक तथा डिजिटल रूपान्तरणमार्फत विद्यमान असमानता घटाउनुपर्नेमा पनि उनले जोड दिए ।

नेपालमा हालै आएको भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिको प्रसङ्ग उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु न्यायको आवश्यकता औँल्याए ।

उनले जलवायुजन्य विपद् सामना गर्न अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था गर्नुपर्ने बताउँदै साझा समृद्धिका लागि नर्थ–साउथ, साउथ–साउथ र त्रिकोणीय सहयोगलाई थप सुदृढ गर्न आह्वान गरे ।

प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com