सुनसरी । तीन दिनदेखिको वर्षाका कारण सुनसरी र सप्तरीको सीमाना हुँदै बग्ने सप्तकोशी नदीमा जलसतह जोखिमपूर्ण अवस्थामा पुगेको छ ।

कोशी ब्यारेजमा जलसतह शनिबार दिउँसो ३ बजे २ लाख ९० हजार ३७० क्युसेक पुगेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म भाण्टाबारीका प्रहरी नायव उपरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए । शनिबार बिहान ३ लाख १० हजार १ सय क्युसेकसम्म पुगेको थियो । पानीको बहाव २ लाख ५० हजार क्युसेकभन्दा बढी हुनुलाई जोखिमपूर्ण मानिन्छ ।

पछिल्लो समय ब्यारेजका ५६ मध्ये ३८ वटा ढोको खोलिएको उनले बताए । उनकाअनुसार शुक्रबार राति ३ लाख १३ हजार ५९५ क्युसेकसम्म पुगेको जलसतह अहिले घट्ने क्रममा छ । शुक्रबार राति ब्यारेजका ४३ वटा ढोका खोलिएको थियो । यही क्रमले घट्दै जाने हो भने सप्तकोशीको त्रास पनि कम हुँदै जाने उनको भनाइ छ ।

कोशीमा जोखिम कायमै रहेका बेला बाढीबाट लाभ उठाउनेको संख्या पनि कम छैन । जब कोशीमा बाढी आउँछ, त्यससँगै बगेर आउने काठ–दाउरा संकलन गर्न स्थानीयको भीड लाग्छ ।

बाढीको समयमा यहाँ दैनिक ५० जनाभन्दा बढी स्थानीयले दाउरा संकलन गरेर आम्दानी गर्ने गरेका छन् । गुणस्तर हेरेर एक ट्रयाक्टर दाउरा तथा काठको मूल्य १० देखि २० हजार रूपैयाँसम्म पर्ने स्थानीय बताउँछन् ।

बाढीको समयमा नदीमा दाउरा निकाल्दा जोखिम हुने भन्दै सुनसरी र सप्तरीतर्फ प्रहरीले कडाइ गरेको छ । तर, प्रहरीको सूचनाको बेवास्ता गर्दै स्थानीयले दाउरा निकाल्ने गरेका छन् ।

तस्बिर : नवीन गड्तौला/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १० आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com