काठमाडौं । मकवानपुरस्थित लाल बकैया खोलामा बाढीको सतह बढ्दै गएको छ। जुरेलिबजार क्षेत्रमा बाढी खतरा तह नजिक पुगेकाले डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार असोज ११ गते बिहान ६ः२० बजेसम्म लाल बकैया खोलामा बाढी बढिरहेको र जोखिमपूर्ण अवस्था रहेकाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन भनिएको हो।
यसैबीच, पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनको माडी कल्याणपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर मापन भएको छ।
मधेश प्रदेशसहित गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको मौसमसम्बन्धी विवरणमा उल्लेख छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार












प्रतिक्रिया