काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली काठमाडौंको टेकुस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय पुगेको छ।
जबरालाई भेट्न पुगेको आयोगको टोलीलाई कार्यालयका सुरक्षाकर्मीले गेटमै रोकेका छन्। टोली करिब आधा घण्टादेखि कार्यालय प्रवेशको प्रतीक्षामा रहेको जनाइएको छ।
अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति महाराजगञ्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको थियो।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै कार्यालयमा ल्याएर राखिएको बताएका छन्।
पूर्वप्रधानन्यायाधीश तथा अवकाश जीवन बिताइरहेका जबरालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अपनाएको शैलीलाई लिएर भने प्रश्न उठ्न थालेका छन्।
पूर्वप्रधानन्यायाधीशसमेत रहेका उच्चप्रोफाइल व्यक्तिलाई कुन कसुरमा र के आधारमा नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले स्पष्ट जानकारी सार्वजनिक गरेको छैन। जबरालाई नियन्त्रणमा लिन जारी गरिएको कुनै पुर्जी वा कानुनी आधारबारे पनि सम्बन्धित सरकारी निकायबाट औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन।
प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार















प्रतिक्रिया