काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।
ललितपुर जिल्लास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पाङ्दुरमा पहिरो खस्दा असोज ९ गते बिहान ०६ः३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बागमती गाउँपालिका वडा नं. ०३ टाकुर्चेमा पहिरो खस्दा असोज ११ गते राति ३ः४० बजे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । हालसम्म पनि उक्त खण्डहरूमा यातायात सञ्चालन हुन सकेको छैन ।
सोलुखुम्बु जिल्ला भित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरूमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन र पैदल यात्रीहरूको रात्रि आवातजावतमा पूर्ण रूपमा रोक लगाइएको छ ।
भोजपुरस् सम्भावित क्षति रोकथामका लागि असोज ०८ गतेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म
भोजपुर जिल्ला अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्ग तथा सम्पूर्ण भित्री सडकहरूमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ । एम्बुलेन्स, दमकल, र खाद्यान्न ढुवानी जस्ता अत्यावश्यक सवारी भने नजिकको प्रहरी एकाइसँग समन्वय गरी सञ्चालन गर्न सकिने बताइएको छ ।
शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडक खण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि दैनिक राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
चितवन जिल्ला तथा आसपासका क्षेत्रमा सम्भावित बाढी–पहिरोको जोखिमका कारण यही ८ गते दिउँसो १४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने सम्पूर्ण सवारी साधनहरूको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ ।
यही ९ गते बिहान ७ बजेदेखि धादिङ जिल्ला तथा आसपासका क्षेत्र भई चल्ने पृथ्वीराजमार्ग सडक खण्डमा बाढी–पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सम्पूर्ण सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । बेनिघाट रोराङ गाउँपालिका–१० पानीधारामा पहिरो गएकाले उक्त खण्ड भने पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर, वडा नं. ३ गौमतीखोला, र गजुरी गाउँपालिका वडा नं. २ चालिसे तथा परेवाभिरमा पहिरो खसेका कारण राजमार्ग एकतर्फी सुचारु रहेको छ ।
प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार















प्रतिक्रिया