काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैँ–तिहारअघि पृथ्वी राजमार्गलाई सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले पछिल्ला तीन–चार दिनदेखि भइरहेको अविरल वर्षाका कारण धादिङ क्षेत्र नम्बर १ अन्तर्गत पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जाने तथा सडक भासिने क्रम जारी रहेको बताइन्।

उनका अनुसार सडकमा क्षति पुग्दा यातायात सञ्चालन प्रभावित भएको छ। दशैँ–तिहार नजिकिँदै गएको अवस्थामा सडकको अवस्था तत्काल सुधार गर्नुपर्ने उनको माग छ।

‘नेपालीहरूको महान् चाड दशैँ–तिहार नजिकिँदै गर्दा सर्वप्रथम सडक नै सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनिन्।

तामाङले पृथ्वी राजमार्गअन्तर्गत नदी किनारमा बसोबास गर्ने नागरिकका घर, जग्गा तथा निजी सम्पत्तिमा पुगेको क्षतिको तत्काल मूल्यांकन गर्न पनि सरकारसँग माग गरिन्।

वास्तविक पीडितको पहिचान गरी उनीहरूलाई राहत, पुनर्स्थापना तथा आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

त्यसैगरी बाढी तथा पहिरोका कारण सडक, पुल, खानेपानीलगायत भौतिक संरचनामा पुगेको क्षतिको तत्काल लेखाजोखा गरी प्राविधिक मूल्यांकन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com