काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढीपहिरोका कारण राष्ट्रिय विद्युत् प्रणालीमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको बताएका छन्।
सोमबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढीपहिरोले विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको जानकारी दिए।
उनका अनुसार बाढीपहिरोका कारण जलविद्युत् आयोजनाका संरचना तथा प्रसारण प्रणाली प्रभावित हुँदा राष्ट्रिय विद्युत् प्रणालीमा करिब एक हजार मेगावाट उत्पादन अवरुद्ध भएको हो।
पछिल्लो वर्षाका कारण कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा मात्रै १३ वटा जलविद्युत् आयोजनाको करिब ३७० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको मन्त्री श्रेष्ठले बताए।
उनले विद्युत् उत्पादन क्षमता भए पनि त्यसलाई उपभोक्तासम्म पुर्याउन आवश्यक प्रसारण पूर्वाधार पर्याप्त नहुँदा समस्या देखिएको उल्लेख गरे।
मन्त्री श्रेष्ठका अनुसार हेटौंडा–ढल्केवर प्रसारण लाइन चार्ज भएपछि पूर्वमा उत्पादित विद्युत् पश्चिमतर्फ र पश्चिममा उत्पादित विद्युत् पूर्वतर्फ प्रवाह गर्न सहज हुनेछ। यसले पूर्व–पश्चिम विद्युत् प्रसारणमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने उनको भनाइ छ।
विद्युत् प्रणाली व्यवस्थापनका लागि आन्तरिक उत्पादनलाई प्राथमिकता दिइएको र अपुग विद्युत् भारतबाट आयात गरेर आपूर्ति व्यवस्थापन भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: १२ आश्विन २०८३, सोमबार












प्रतिक्रिया