काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो आचरण बदलेर शालीन र विनम्र बन्न निर्देशन दिएका छन्।

राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जनताको मन जित्न नसकिने बताउँदै उनले घमण्ड त्यागी गाउँ-बस्तीमा पुगेर नागरिकमा भरोसा जगाउन आग्रह गरेका हुन्।

कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूलाई कार्यक्षेत्रमा नखटी ‘टुरिस्ट’ जस्तै घुम्ने प्रवृत्ति तत्काल त्याग्न चेतावनी दिए।

‘अब नेता-कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ,’ ओलीले भने, ‘आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्। देश बनाउने स्पष्ट खाका र नीति एमालेसँग मात्रै छ, त्यसैले आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस्।’

अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीलाई पार्टीको दुई मुख्य कार्यभारका रूपमा अघि सार्दै सम्पूर्ण ध्यान जनतामा केन्द्रित गर्न निर्देशन दिए।

जनतामाझ पुग्दा उच्च अनुशासन कायम राख्न निर्देशन दिँदै उनले केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई ‘कट-अफ डेट’ घोषणा गरे।

‘केन्द्रीय कमिटीको बैठकबाट पार्टीभित्रको सन्देह सकिएको छ, अब अराजकता र अनुशासनहीनता चल्दैन,’ ओलीले भने, ‘विगतमा पुनर्गठनका नाममा अध्यक्ष हटाउनेसम्मका अपराधपूर्ण काम भए, ती सबै कमजोरी क्षमा भयो तर अब क्षमा हुँदैन। पार्टी नीतिविपरीत जाने, अराजकता फैलाउने वा विपक्षी रमाउने गरी बोल्ने जो कोहीमाथि कडा कारबाही हुनेछ।’

विगत फागुनको निर्वाचनमा बेहोर्नुपरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंश र पार्टीभित्रको आन्तरिक कमजोरीका कारण भएको उल्लेख गर्दै ओलीले विपक्षीले फैलाएका भ्रम चिर्न डिजिटल क्याम्पेन सञ्चालन गरिने जानकारी दिए।

उनले डिजिटल अभिलेख, संगठन सुदृढीकरण र नयाँ सदस्यता वितरणको काम यसै महिनाभित्र सम्पन्न गर्न निर्देशन दिए।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com