काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले युक्रेन तथा इरान–खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण आगामी महिनाहरूमा विश्वले ठूलो खाद्य संकटको सामना गर्न सक्ने चेतावनी दिएका छन्।

सोमबार न्युयोर्कस्थित ‘एसिया सोसाइटी’ले आयोजना गरेको कार्यक्रममा बोल्दै जयशंकरले जारी द्वन्द्वले विकासशील राष्ट्रहरूको अर्थतन्त्रमा गम्भीर दबाब सिर्जना गरिरहेको बताएका हुन्।

उनका अनुसार प्रमुख अन्न निर्यातकर्ता मुलुकबाट हुने आपूर्ति तथा ढुवानी प्रभावित हुँदा विश्वव्यापी खाद्य सुरक्षामा जोखिम बढेको छ। विशेषगरी कालो सागर हुँदै हुने अन्न ढुवानीमा अवरोध आउँदा त्यसको प्रत्यक्ष असर खाद्य आपूर्तिमा पर्न सक्ने उनले बताए।

जयशंकरले विश्वले मलको ठूलो अभावसमेत सामना गरिरहेको उल्लेख गरे। पश्चिम एसिया र रुसमा रहेका प्रमुख मल उत्पादक तथा आपूर्तिकर्ता प्रभावित हुँदा कृषि उत्पादनमा समेत असर पर्न सक्ने उनको भनाइ छ।

उनले ऊर्जा बजारको अवस्था पनि ‘अत्यन्तै तनावपूर्ण’ रहेको बताए। तेल आपूर्तिमा आएको अवरोध र त्यससँग जोडिएको राजनीतिक तनावले ऊर्जा बजारमा थप अनिश्चितता सिर्जना गर्नुका साथै तेलको मूल्य बढाइरहेको उनले बताए।

‘तेल आपूर्तिको सुरक्षा र तेल आपूर्तिको राजनीति एकअर्कासँग जोडिएका छन्। यी दुवैले दोहोरो संकट वा बढ्दो संकट सिर्जना गरिरहेका छन्,’ जयशंकरले भने।

खाद्य संकटको सम्भावनाबारे चर्चा गर्दै उनले केही प्रमुख अन्न निर्यातकर्ता मुलुकले आफ्नो उत्पादन विश्व बजारमा पठाउन नसक्ने अवस्था आउन सक्ने बताए। मल उत्पादन तथा आपूर्तिमा आएको अवरोधसँगै प्रतिकूल जलवायु अवस्थाले कृषि उत्पादनमा थप दबाब सिर्जना गर्न सक्ने उनको भनाइ छ।

जयशंकरले ऊर्जा, खाद्य, मल र वित्तीय क्षेत्रमा एकैपटक दबाब बढ्दा विकासशील राष्ट्रहरूको अर्थतन्त्र थप प्रभावित हुन सक्ने बताए। द्वन्द्व र अस्थिरताका बेला लगानी सुरक्षित मानिएका बजारतर्फ प्रवाह हुने भएकाले विकासशील मुलुकबाट वित्तीय स्रोत बाहिरिन सक्ने उनले उल्लेख गरे।

उनले अन्तर्राष्ट्रिय संकटका बेला मुलुकहरूले केवल आफ्नो स्वार्थलाई केन्द्रमा राखेर निर्णय गर्न नहुने धारणा राखे। धेरै देशका आधारभूत आवश्यकतालाई बेवास्ता गर्ने गरी गरिने निर्णयले कमजोर अर्थतन्त्र भएका मुलुकलाई थप संकटमा पार्न सक्ने उनले बताए।

युक्रेन युद्धपछि विभिन्न मुलुकमा त्यसको राजनीतिक तथा आर्थिक असर देखिएको उल्लेख गर्दै जयशंकरले इरान र खाडी क्षेत्रमा विकसित घटनाक्रमले विश्वव्यापी अस्थिरता थप बढाउन सक्ने चेतावनी दिए।

यस्तो परिस्थितिमा केही मुलुकलाई आफ्नो स्वतन्त्रता र रणनीतिक स्वायत्तता कायम राख्नसमेत कठिन हुन सक्ने उनको भनाइ छ।

विश्वव्यापी द्वन्द्वका कारण प्रभावित भइरहेका मुलुकका आधारभूत आवश्यकता, खाद्य तथा ऊर्जा सुरक्षा र आर्थिक स्थायित्वलाई अन्तर्राष्ट्रिय समुदायले प्राथमिकतामा राख्नुपर्नेमा जयशंकरले जोड दिए।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com