विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार झडप र तोडफोड भएको छ। क्रियाशील सदस्यताको विषयमा विवाद बढेपछि सुन्दरहरैचामा आयोजित अधिवेशन प्रभावित भएको हो।

अधिवेशनमा बुधबार मनोनयन गर्ने कार्यतालिका थियो। तर, उद्घाटन कार्यक्रम सुरु हुनुअघि नै विवाद बढेर तोडफोड तथा कुटपिट भएपछि अधिवेशन प्रक्रिया अवरुद्ध भएको कांग्रेस नेताहरूले बताएका छन्।

घटनामा क्षेत्रीय कार्यवाहक सभापति चुमनारायण तबदार, नेता चेतराज रेग्मीलगायत घाइते भएका छन्। उनीहरूको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

कांग्रेस सहमहामन्त्री डा. डीला संग्रौलामाथि पनि हातपात भएको बताइएको छ।

यसअघि पनि क्रियाशील सदस्यताको विवादका कारण मोरङ–६ अन्तर्गत वडा अधिवेशन निर्धारित समयमा हुन सकेको थिएन। वडा तहमा क्रियाशील सदस्यता वितरण तथा अनलाइन फाराम भर्ने क्रममा उत्पन्न विवाद क्षेत्रीय अधिवेशनसम्म आइपुगेको बताइएको छ।

प्रत्यक्षदर्शीका अनुसार क्रियाशील सदस्यतासम्बन्धी विवाद उग्र बनेपछि अधिवेशनस्थलमा रहेका नेता तथा कार्यकर्ताबीच हातपात भएको थियो। त्यस क्रममा तोडफोडसमेत भएको थियो।

मोरङ–६ कांग्रेस नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो। कोइराला यसपटक कांग्रेस महाधिवेशन प्रक्रियाबाट अलग रहेका छन्। कांग्रेस संस्थापन पक्षले अधिवेशनमा अवरोध गर्ने समूह कोइरालानिकट रहेको दाबी गरेको छ।

क्षेत्रीय सभापतिको जिम्मेवारीमा यसअघि कोइरालानिकट नेता देवराज तामाङ थिए। केन्द्रीय नेतृत्वलाई असहयोग गरेको भन्दै अधिवेशन गराउने जिम्मेवारी पूर्वसांसद चुमनारायण तबदारलाई दिइएको कांग्रेस नेताहरूले बताएका छन्।

बुधबार अधिवेशनस्थलमा तामाङ पनि उपस्थित थिए। उनले अधिवेशन सुरु हुनुअघि नै असन्तुष्ट समूहले तोडफोड गरेको बताए। तर, तोडफोडमा आफू निकट कार्यकर्ता संलग्न रहेको भन्ने आरोप उनले अस्वीकार गरे।

यसैबीच, घटनापछि कांग्रेस नेताहरूले विवाद समाधान र स्थिति सामान्य बनाउने प्रयास गरिरहेका छन्। कांग्रेस नेता रमेशजंग रायमाझीले विकसित परिस्थितिलाई साम्य पार्दै अधिवेशन प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको बताए।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com