काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत देशभर हुन लागेको वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
देउवा पक्षीय समूहले १५औँ महाधिवेशनअन्तर्गत आज देशभरका वडामा अधिवेशन गर्दैछ। त्यसैक्रममा देउवाले आज एक अपिल जारी गर्दै कांग्रेसका सबै सदस्यलाई वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका हुन्।
नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि कांग्रेसले आठ दशकदेखि संघर्ष र बलिदान गर्दै आएको स्मरण गर्दै देउवाले पार्टीको १५औँ महाधिवेशनलाई महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
‘म तमाम नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा आजदेखि देशभरका छ हजार ७४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्नुहुन हार्दिक अनुरोध गर्दछु,’ देउवाले अपिलमा भनेका छन्।
कांग्रेस संस्थापन पक्षले १५औँ महाधिवेशन यही असोज १८ गतेदेखि सुरु गर्ने मिति तय गरेको छ। देउवा पक्षीय समूहले भने आगामी मङ्सिर २१ गतेदेखि महाधिवेशन गर्ने मिति घोषणा गरेको छ।
प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया