काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारका कामकारबाहीमा प्रश्न उठाउन सामाजिक सञ्जालमा मात्र सक्रिय हुने प्रवृत्तिको आलोचना गर्दै सांसदहरूलाई संसद्‌मै जनताका मुद्दा उठाउन आग्रह गरेकी छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी नियुक्ति प्रक्रियामाथि प्रश्न उठाइन्। उनले विज्ञापन खुल्नुअघि नै प्रधानमन्त्री कार्यालयमा केक काटेर उत्सव मनाइएको र नियुक्तिको निर्णय केही दिन गोप्य राखिएको दाबी गर्दै यस विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरिन्।

ओलीले नियुक्ति प्रक्रियामा प्रधानमन्त्री कार्यालयका सल्लाहकार, सचिवालयका कर्मचारी तथा अन्य पदाधिकारीको भूमिकासमेत छानबिन गर्नुपर्ने बताइन्। उनका अनुसार सफ्टवेयर विकासलाई सामान्य निर्माण कार्यका रूपमा हेर्न नमिल्ने भन्दै राज्यको संलग्नता र नियुक्ति प्रक्रियामा निष्पक्षता कायम हुनुपर्ने आवश्यकता छ।

उनले गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकताको निरन्तरतासम्बन्धी व्यवस्था कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिक करारनामामा प्रवासी नेपालीलाई गैरआवासीय नागरिकता दिने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले प्रतिबद्धता कार्यान्वयनमा भइरहेको ढिलाइबारे प्रश्न गरिन्।

ओलीले नागरिकताबाट वञ्चित नेपालीहरूको समस्या समाधानसँगै विभिन्न देशका नागरिकले नेपाली नागरिकता प्राप्त गरेको भनिएका विषयमा समेत अध्ययन र अडिट गर्नुपर्ने धारणा राखिन्।

सत्ता पक्षका सांसदहरू सामाजिक सञ्जालमा मात्र अभिव्यक्त हुने तर संसद्‌मा बोल्ने अवसर पाउँदा मौन रहने गरेको भन्दै उनले यस्तो प्रवृत्ति अन्त्य गर्न आग्रह गरिन्।

‘संसद्‌मा बोल्ने अवसर हुँदा मौन बस्ने तर त्यही कुरा फेसबुकमा गएर लेखेर क्रान्तिकारी बन्ने प्रवृत्ति बन्द गर्नुस्। संसद् प्रश्न उठाउने ठाउँ हो,’ ओलीले भनिन्।

उनले सांसदको जिम्मेवारी आफ्नो राजनीतिक सुविधा वा दलगत स्वार्थअनुसार मात्र अभिव्यक्ति दिनु नभई आवश्यक परे आफ्नै सरकारका कामकारबाहीमाथि समेत प्रश्न उठाउनु रहेको बताइन्।

जनताका सवाल संसद्‌मा प्रभावकारी रूपमा उठाउन नसक्ने सांसद बन्नुभन्दा चुनाव हार्नु नै उचित लाग्न थालेको टिप्पणीसमेत ओलीले गरिन्।

प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com