रामेछाप । परीक्षामा पास गराइदिने प्रलोभन देखाएर १३ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ घर भई हाल रामेछापमा अध्यापन गराउँदै आएका ४८ वर्षीय शिक्षक नवराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीका अनुसार भण्डारीले आफूले नै अध्यापन गराउने १३ वर्षीया छात्रालाई परीक्षामा पास गराइदिने भन्दै फकाएर पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप छ।
उनले छात्राको संवेदनशील अंग छुने तथा चिमोट्ने गरेको र फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाउने गरेको आरोपसमेत प्रहरीमा परेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कमल राउतका अनुसार शिक्षक भण्डारीले छात्रामाथि पटक–पटक बालयौन दुरुपयोग गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो।
प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो। पक्राउपछि रामेछाप जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राउतले जानकारी दिए।
घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १५ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया