काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बदलिँदो राजनीतिक परिस्थितिअनुसार नेपाली कांग्रेसलाई जनतासँग अझ प्रत्यक्ष रूपमा जोड्न आफूले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको शर्माले बताएका छन्। उनले पार्टीको पहुँच दूरदराजका नागरिकसम्म विस्तार गर्दै आम नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो उद्देश्य रहेको बताए।
शर्माले राज्यलाई जनतासँग र जनताको आवाजलाई पार्टीको नीति तथा निर्णयसँग जोड्दै समयको मागअनुसार आवश्यक रूपान्तरणलाई संस्थागत गर्ने प्रतिबद्धतासहित महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए।
‘राज्यलाई जनतासँग, जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको रूपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछु,’ उनले भने।
लोकतन्त्र पुनर्स्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकालगायतका स्थानमा विभिन्न तहमा राजनीतिक गतिविधि तथा ‘लविङ’ गरेको स्मरण गर्दै शर्माले नेपाली कांग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको बताए।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू विराटनगर र मोरङको राजनीतिक पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा सक्रिय रहेको उल्लेख गरे। बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासँग जोडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय भएको उनको भनाइ थियो।
‘हामी बीपी कोइराला, गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ। हामी विराटनगरवासी, मोरङवासीले त्यसमा गर्व पनि गर्छौं,’ उनले भने।
शर्माले अहिलेको बदलिँदो परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्नु आवश्यक रहेको बताए। दुई छाक खानका लागि सङ्घर्ष गरिरहेका तथा सामान्य स्वास्थ्य उपचारसमेत पाउन नसकेका नागरिकका पक्षमा आफू निरन्तर काम गर्दै आएको उनको दाबी छ।
उनले आगामी दिनमा पनि पार्टीको नेतृत्वलाई जनताको दैनिक जीवनसँग जोड्दै आम नागरिकका समस्या समाधानका लागि प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार












प्रतिक्रिया