काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसका मुद्दा उठाउँदै आएका राजनीतिक दलहरूले विगतका उपलब्धि र कमजोरीको गम्भीर समीक्षा गर्दै राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने दिशामा अघि बढ्नुपर्ने बताएका छन्।

जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै घिसिङले २०६२/६३ को जनआन्दोलनपछि करिब दुई दशकको अवधिमा मधेसका राजनीतिक शक्तिले उठाएका मुद्दा सही भए पनि तिनको कार्यान्वयन र प्राप्त उपलब्धिको समीक्षा आवश्यक रहेको बताए।

‘हामीले मुद्दाहरू उठायौँ, ती मुद्दालाई जनतामाझ पुर्‍यायौँ। ती मुद्दा समाधान भए कि भएनन् र हामीले उठाएका मुद्दा सही थिए भने त्यसको कार्यान्वयन भयो कि भएन भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्छ,’ उनले भने।

मधेसका राजनीतिक दलले क्षेत्रीय राजनीतिमा प्रभाव स्थापित गर्न सफल भए पनि राष्ट्रिय राजनीतिक शक्तिका रूपमा स्थापित हुन नसकेको विषयमा पनि आत्मसमीक्षा आवश्यक रहेको घिसिङले बताए।

‘राष्ट्रिय रूपमा स्थापित हुन सकिएन, त्यसको गम्भीर समीक्षा गरौँ,’ उनले भने।

उनले मधेसका मुद्दासँगै हिमाल, पहाड र तराईका साझा सवाललाई सशक्त रूपमा उठाउने राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता रहेको बताए। आर्थिक रूपान्तरण, सुशासन र सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रिय दृष्टिकोणसहितको राजनीतिक शक्ति आवश्यक रहेको उनको भनाइ थियो।

घिसिङले मधेसका राजनीतिक शक्तिले विगतमा उठाएका मुद्दा र त्यसबाट प्राप्त राजनीतिक उपलब्धिबीचको अन्तरसमेत विश्लेषण गर्नुपर्ने बताए। मधेसबाट राष्ट्रपति र प्रधानमन्त्रीजस्ता उच्च राजनीतिक पदमा प्रतिनिधित्व भए पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिक जीवनमा परेको छ कि छैन भन्ने विषयमा समीक्षा गर्नुपर्ने उनले बताए।

‘मधेसले धेरै पद प्राप्त गरेको छ। मधेसको छोरा प्रधानमन्त्री र राष्ट्रपति पनि भएको अवस्था छ। अब जनताको आधारभूत विषयमा परिवर्तन भयो कि भएन भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्छ,’ उनले भने।

उनले राजनीतिक उपलब्धिलाई जनताको जीवनस्तरमा देखिने परिवर्तनसँग जोडेर मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com