दाङ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
लुम्बिनी प्रदेश कांग्रेसका पूर्वप्रवक्तासमेत रहेका न्यौपानेले कांग्रेसलाई थप सुदृढ र संगठित बनाउने लक्ष्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्।
‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवारका रूपमा आफूलाई उभ्याउने निर्णय लिएको छु,’ न्यौपानेले भने, ‘कांग्रेसलाई बलियो संगठनका रूपमा स्थापित गर्ने प्रमुख एजेन्डा मेरो रहनेछ।’
नेविसंघका पूर्वसहमहामन्त्रीसमेत रहेका न्यौपाने कांग्रेसका वर्तमान महामन्त्री प्रदीप पौडेलले नेविसंघको नेतृत्व गरेका बेला सहमहामन्त्रीको जिम्मेवारीमा थिए । विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारको राजनीतिमा आएका न्यौपानेले पार्टीको १४औँ महाधिवेशनमा लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनी लुम्बिनी प्रदेश कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा समेत चयन भएका थिए ।
गत प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका न्यौपाने निर्वाचित भएका थिए । प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भएपछि उनले २०८१ सालमा लुम्बिनी प्रदेश सरकारमा उद्योग, पर्यटन तथा यातायातमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले करिब दुई वर्ष उक्त मन्त्रालयको नेतृत्व गरेका थिए ।
कांग्रेसको केन्द्रीय सदस्यका आकांक्षी न्यौपाने पार्टीभित्र पुस्तान्तरण र नेतृत्वमा युवाको अर्थपूर्ण सहभागिताको पक्षमा वकालत गर्दै आएका युवा नेता हुन् । अग्रज नेताहरूको अनुभव र योगदानको सम्मान गर्दै युवालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा सम्मानजनक स्थान दिनुपर्ने उनको धारणा छ ।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै न्यौपानेले संगठन सुदृढीकरण, पुस्तान्तरण र कांग्रेसलाई थप प्रभावकारी तथा जनमुखी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार












प्रतिक्रिया