काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। पर्साको वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट राउतले अध्यक्ष पदमा निरन्तरता पाएका हुन्।
अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। यद्यपि, पार्टीको विधानअनुसार उम्मेदवारले सदर मतको कम्तीमा २० प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले अध्यक्ष पदका लागि पनि मतदान गरिएको थियो।
निर्वाचनमा सहभागी १ हजार १५५ प्रतिनिधिमध्ये राउतले ९५८ मत प्राप्त गरेका छन्। यससँगै उनी दोस्रो महाधिवेशनबाट पुनः पार्टी अध्यक्षमा निर्वाचित भएका हुन्।
महाधिवेशनबाट अध्यक्षसहित २६ पदाधिकारी र ९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको जनाइएको छ।
महासचिवमा सञ्जय यादव
जनमत पार्टीको महासचिव पदमा सिरहाका सञ्जयकुमार यादव निर्वाचित भएका छन्। उनले ६१८ मत प्राप्त गर्दै महासचिव पदमा जित हासिल गरेका हुन्।
महासचिव पदका लागि ममता झा र निवर्तमान महासचिव चन्दनकुमार सिंह पनि प्रतिस्पर्धामा थिए। झाले २२० तथा सिंहले १६५ मत प्राप्त गरेका छन्।
निर्वाचन समितिका अनुसार दुवै प्रतिस्पर्धीले पार्टी विधानले तोकेको २० प्रतिशत मतको सीमा पूरा गर्न सकेनन्। त्यसपछि यादव महासचिवमा निर्वाचित भएका हुन्।
नवनिर्वाचित महासचिव यादव मधेश प्रदेश सभा सदस्यसमेत हुन्। उनी यसअघि प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
उपमहासचिवमा निर्मल मण्डल
उपमहासचिव पदमा सिरहाका निर्मलकुमार मण्डल निर्वाचित भएका छन्। उनले ५०१ मत प्राप्त गर्दै ललितचन्द्र मल्लिकलाई पछि पारे।
महाधिवेशनबाट पार्टीको उपाध्यक्षमा सात जना निर्वाचित भएका छन्। ११ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धाबाट अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजकुमार यादव र माधवप्रसाद सिंह उपाध्यक्षमा चयन भएका हुन्।
उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने निर्वाचित हुन सकेनन्।
सात सचिव निर्वाचित
महाधिवेशनले पार्टीको सचिवमा सात जनालाई निर्वाचित गरेको छ। नौ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धाबाट सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी सचिवमा निर्वाचित भएका हुन्।
सचिव पदका उम्मेदवार वीरेन्द्र महतो ‘जीवन त्यागी’ र रामबाबु साह भने पराजित भएका छन्।
यस निर्वाचनसँगै जनमत पार्टीले आगामी कार्यकालका लागि नयाँ केन्द्रीय नेतृत्व संरचना तयार गरेको छ। अध्यक्षमा राउतको निरन्तरतासँगै महासचिवसहितका महत्वपूर्ण पदमा नयाँ अनुहारसमेत निर्वाचित भएका छन्।
वीरगञ्जमा भएको थियो महाधिवेशन
जनमत पार्टीको दोस्रो महाधिवेशन पर्साको वीरगञ्जमा आयोजना गरिएको थियो। महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेता तथा व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष राउतसँगै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुली, पूर्वमन्त्री मातृकाप्रसाद यादव तथा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलगायत सहभागी भएका थिए।
महाधिवेशनले नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाका लागि नयाँ कार्यसमिति तय गरेको छ।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार












प्रतिक्रिया