काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अब राजनीतिक दलहरूबीच कसले कति पटक सत्ता सञ्चालन गर्ने भन्ने विषयमा नभई देशका लागि कसले कति राम्रो काम गर्ने भन्नेमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले राजनीतिक दलहरूले आफ्नो कार्यशैली र सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।

काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा उनले पार्टी अध्यक्ष हर्क साम्पाङको भनाइ उद्धृत गर्दै भने, ‘अब कुन पार्टीले कति पटक सत्ता चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा पनि कुन पार्टीले कति राम्रो काम गरे र देशका लागि कति योगदान दिए भन्ने कुरामा प्रतिस्पर्धा गर्नुपर्छ।’

राईले विगतमा भएका राजनीतिक तथा नीतिगत कमजोरीबाट पाठ सिक्दै नयाँ पुस्ता देश रूपान्तरणको संकल्पसहित अघि बढ्नुपर्ने बताए। पुराना गल्तीहरू सच्याएर समृद्ध राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूमध्ये श्रम संस्कृति पार्टी सबैभन्दा कान्छो दल रहेको उल्लेख गर्दै उनले नेपाली कांग्रेस भने लामो राजनीतिक इतिहास बोकेको पार्टी भएको बताए।

नेपाली कांग्रेस कुनै हल्लाका भरमा नभई सहिद तथा राजनीतिक योद्धाहरूको त्याग, संघर्ष र बलिदानबाट स्थापित भएको स्मरण गर्दै राईले त्यसको ऐतिहासिक योगदानलाई सम्मान गर्नुपर्ने धारणा राखे।

समृद्ध र विकसित राष्ट्र निर्माणका लागि राजनीतिक दलहरूबीच सहकार्य र एकता आवश्यक रहेको उल्लेख गर्दै महासचिव राईले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com