काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै देशको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै रहेको स्मरण गरे। त्रिचन्द्र क्याम्पसमा आयोजित सभादेखि नै आफूहरू सँगै उभिएको उल्लेख गर्दै उनले थापा कांग्रेसको नेतृत्वमा आउनुलाई सकारात्मक रूपमा लिएको बताए।
‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो,’ पोखरेलले भने।
राणा शासन, पञ्चायत र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनविरुद्ध कांग्रेससँग मिलेर अघि बढेको स्मरण गर्दै उनले आगामी दिनमा पनि लोकतन्त्रको रक्षा र देश निर्माणका लागि दुई दलबीच सहकार्य आवश्यक रहेको बताए।
‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौँ। अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ।’
वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र संवाद नगरी अघि बढिरहेको आरोपसमेत पोखरेलले लगाए। प्रधानमन्त्रीले संसद् र जनताका कुरा नसुन्ने अवस्था देखिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए र त्यसलाई ‘स्वेच्छाचारी शासन’ को संज्ञा दिए।
आगामी दिनमा कांग्रेसले यस विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरे।
पोखरेलले युवाहरूलाई निराश हुन नदिन सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताए। युवाका सपना र आकांक्षा पूरा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको साझा भएको उनको भनाइ थियो।
‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने।
कांग्रेसको १५औँ महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वाससमेत पोखरेलले व्यक्त गरे। सूचना प्रविधिको विकासमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार











प्रतिक्रिया