काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनमा हार वा जितलाई मात्र आधार बनाएर पार्टीको राजनीतिक जिम्मेवारी निर्धारण गर्न नहुने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रलाई सम्बोधन गर्दै थापाले जनताका समस्या समाधान गर्न संसद्, प्रदेश र स्थानीय तहदेखि समाजसम्म कांग्रेसको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।
उनले जनताका विविध समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको रहेको बताउँदै संसदीय दलका नेता विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गरिरहेको दाबी गरे।
‘जनताका अनेकौँ समस्या समाधान गर्ने जिम्मेवारी कांग्रेसको हो। नेपाली कांग्रेसको संसदीय दलका नेता माननीय विश्वप्रकाश शर्माको नेतृत्वमा शानदार ढंगले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ,’ थापाले भने।
सरकार र प्रतिपक्षको जिम्मेवारीलाई आ–आफ्नो सीमामा मात्र बाँधेर हेर्न नहुने उनको भनाइ थियो। परिवार, समाज र राज्यका विभिन्न तहमा बढिरहेको अविश्वास कम गर्दै नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउनु कांग्रेसको महत्वपूर्ण दायित्व रहेको उनले बताए।
थापाले जिम्मेवारीबोधका साथ देश र समाजका लागि काम गर्नु कांग्रेसको ऐतिहासिक चरित्र भएको दाबी गरे। विगतमा सीमित सिटमा रहेर पनि कांग्रेसले संविधान निर्माणजस्तो ऐतिहासिक जिम्मेवारी पूरा गरेको उनले स्मरण गरे।
‘नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभा बन्यो र संविधान बन्यो। त्यो किन सम्भव भयो? किनभने कांग्रेससँग संख्या र शक्ति मात्र थिएन, जिम्मेवारीबोध र क्षमता पनि थियो,’ उनले भने, ‘सीटको संख्या सीमित भए पनि देशलाई नेतृत्व गर्ने ताकत राख्नु नेपाली कांग्रेसको ऐतिहासिक चरित्र हो।’
फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले प्राप्त गरेको परिणामलाई लिएर हीनताबोध गर्न आवश्यक नरहेको थापाले बताए। कांग्रेस निर्वाचनबाट भाग्ने नभई निर्वाचनको वातावरण निर्माणका लागि अग्रसर हुने पार्टी भएको उनको भनाइ थियो।
‘कांग्रेसले चुनावको संख्यालाई हेरेर आफ्नो भूमिका निर्धारण गर्ने होइन। नेपालको राजनीति, संस्थाहरू र समाजलाई बुझेर उच्च मनोबलका साथ कांग्रेस राष्ट्रिय शक्ति हो भन्ने आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ उनले भने।
सभापति थापाले समाजका विविध समुदाय र क्षेत्रलाई जोड्नु कांग्रेसको अर्को महत्वपूर्ण विशेषता भएको बताए। पहाड, मधेस, जनजाति, महिला तथा विभिन्न समुदायका आवाजलाई एउटै राजनीतिक मञ्चमा जोड्ने काम कांग्रेसले गर्दै आएको उनको भनाइ थियो।
‘पहाडको पार्टीले पहाडको बोल्ने, जनजातिको पार्टीले जनजातिको बोल्ने होइन, सबैको आवाज बोल्ने र सबैलाई जोड्ने काम नेपाली कांग्रेसले गर्दै आएको छ,’ उनले भने।
सुशील कोइरालाको नेतृत्वमा संविधान जारी हुनु कांग्रेसको यही चरित्रको उदाहरण भएको थापाले बताए। संविधान जारी भएपछि भएको निर्वाचनमा कांग्रेस पराजित भए पनि परिणाम स्वीकार गर्दै लोकतान्त्रिक प्रक्रियालाई अघि बढाएको उनले स्मरण गरे।
निर्वाचनमा हार–जित स्वाभाविक भए पनि लोकतान्त्रिक मूल्य, संविधानको रक्षा र समाजलाई जोड्ने आफ्नो मूल चरित्रबाट कांग्रेस पछि हट्न नहुने थापाको भनाइ थियो।
‘चुनाव हार्नु कांग्रेसको अन्त्य होइन। चुनाव हार्दा पनि समाजमा विश्वास जगाउने, संविधानको रक्षा गर्ने र लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउने काम कांग्रेसले गर्दै आएको छ,’ उनले भने।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार










प्रतिक्रिया