काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि जारी अत्यावश्यकबाहेकको खोज तथा उद्धार कार्य हाललाई स्थगित गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अब पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको हो।
बैठकले बाढी तथा पहिरो प्रभावित क्षेत्रका ५०४ योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।
खोज तथा उद्धार स्थगन गर्ने निर्णय जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस र स्थलगत अवलोकनका आधारमा गरिएको हो।
प्रधानमन्त्री शाहले पुनर्निर्माण र पुनर्स्थापनाका काम संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा अघि बढाइने बताएका छन्। बैठकमा प्रदेशका मुख्यमन्त्री तथा विपक्षी दलका नेताहरूले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार










प्रतिक्रिया