काठमाडौं । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले पार्टीका कारबाहीमा परेका नेताहरूसँग मिलेर ‘समाजवादी जागरण अभियान’ घोषणा गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज २३ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको पार्टी स्रोतले जनाएको छ।
बैठकमा खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे छलफल हुने बताइएको छ। स्रोतका अनुसार खनालले पार्टी परित्याग गरेको औपचारिक घोषणा नगरेकाले उनलाई बैठकमा उपस्थित गराएर अभियान घोषणाबारे स्पष्टीकरण लिने तयारी छ।
‘झलनाथजीले पार्टी छोडेको घोषणा गर्नुभएको छैन। समाजवादी जागरण अभियान घोषणा गर्नुभएको छ। हामीले असोज २३ गते केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छौँ। उहाँ त्यस बैठकमा आउनुहुन्छ होला। अभियानको विषयमा रोहवरमै राखेर स्पष्टीकरण सोधिन्छ। आउनुभएन भने त्यसैअनुसार पार्टीले निर्णय गर्छ,’ स्रोतले भन्यो।
पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण तथा एकता महाधिवेशनका विषयमा पार्टीभित्र फरक प्रस्ताव राख्दै आएका खनालले सोमबार समाजवादी जागरण अभियान घोषणा गरेका थिए।
त्यसअघि उनले शनिबार विभिन्न वामपन्थी नेताहरूसँग गोप्य छलफलसमेत गरेका थिए।
खनाल २०७८ सालमा नेकपा (एमाले) विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएका थिए। त्यसपछि गत वर्ष कात्तिक १९ गते उनी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए।
प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार












प्रतिक्रिया