काठमाडौं । सरकारले मेडिकल शिक्षा क्षेत्रमा देखिएका विकृति र अनियमितता अन्त्य गर्दै यस क्षेत्रलाई थप जिम्मेवार र व्यवस्थित बनाउन कडाइ गर्ने भएको छ।

विशेषगरी मेडिकल कलेजको निरीक्षणका बेला मात्रै फ्याकल्टीका रूपमा देखिने ‘खडेबाबा’ अर्थात् ‘घोस्ट फ्याकल्टी’को अभ्यास नियन्त्रण गर्न सरकारले निगरानी र कारबाही प्रक्रिया अघि बढाउने भएको हो।

शिक्षामन्त्रीको निर्देशनअनुसार अनियमितता तथा बेतिथिमा संलग्न मेडिकल कलेजको निगरानी बढाएर दोषीमाथि कडा कारबाही गर्ने तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अस्पताल तथा चिकित्सकबाट हुने लापरबाही र मेडिकल शिक्षामा देखिएका विकृतिसम्बन्धी सूचनालाई आधार बनाएर नियमन तथा अनुगमनलाई प्रभावकारी बनाउन लागिएको हो।

यसअन्तर्गत सम्बन्धित सरकारी तथा नियामक निकायले देशभरका मेडिकल कलेजमा कार्यरत फ्याकल्टीको विवरणमाथि सूक्ष्म निगरानी गर्ने तयारी गरेका छन्। फ्याकल्टीको नियुक्ति, नियमित उपस्थिति, अध्यापनमा संलग्नता, अस्पतालमा प्रदान गर्ने सेवा तथा निरीक्षणका क्रममा पेस गरिने विवरणसमेत परीक्षणको दायरामा ल्याइने मन्त्रालयले जनाएको छ।

वास्तविक रूपमा अध्यापन वा अस्पताल सेवामा संलग्न नभई मेडिकल कलेजको निरीक्षणका बेला मात्रै आफ्नो नाम, उपस्थिति वा कागजात प्रयोग गर्न दिएको प्रमाणित भएमा सम्बन्धित चिकित्सकमाथि कारबाही गरिने मन्त्रालयले जनाएको छ।

यस्तो कार्यमा गम्भीर संलग्नता प्रमाणित भएमा नेपाल मेडिकल काउन्सिलको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मको प्रक्रिया अघि बढ्न सक्ने बताइएको छ।

मेडिकल कलेजमा हुने अनियमिततासम्बन्धी विद्यार्थी तथा अन्य सरोकारवालाबाट प्राप्त सूचना, फोटो, भिडियो तथा अन्य प्रमाणलाई समेत अध्ययनको आधार बनाइने मन्त्रालयले जनाएको छ।

‘अब कागजमा होइन, कक्षामा वास्तविक फ्याकल्टी चाहिन्छ,’ मन्त्रालयले भनेको छ, ‘खडेबाबा प्रयोग गरेर मेडिकल कलेजको सिट वा मान्यता प्रभावित गर्ने अभ्यास प्रमाणित भए संलग्न सबैलाई जबाफदेही बनाइनेछ।’

हालै बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा पनि मेडिकल कलेजमा हुने यस्ता विकृतिको विषय उठेको थियो। बैठकमा आयोगका उपाध्यक्ष प्रा. डा. डेबेन्द्र खत्रीले यस्ता बेतिथिमा संलग्न अस्पताल तथा चिकित्सकमाथि कडाइ गर्नुपर्ने धारणा राखेका थिए।

यस विषयमा शिक्षा मन्त्रालयले समेत मन्त्रालयमा प्राप्त गुनासो तथा सूचनाका आधारमा सरोकारवालासँग छलफल र अन्तरक्रिया गरिसकेको जनाएको छ। मन्त्रालयले मेडिकल शिक्षाको गुणस्तर, फ्याकल्टीको वास्तविक उपस्थिति तथा अस्पताल सेवाको प्रभावकारितालाई प्राथमिकतामा राखेर अनुगमन तथा नियमनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com