काठमाडौं । न्युयोर्कको मेयरमा जोहरान ममदानीको जितले अमेरिकासँगै युरोपका वामपन्थी तथा प्रगतिशील दलको चुनावी राजनीतिमा पनि प्रभाव पार्न थालेको छ।

ममदानीले बढ्दो महँगी, घरभाडा र दैनिक जीवनयापनको खर्चलाई मुख्य मुद्दा बनाएर अभियान चलाएका थिए। उनको यही रणनीति युरोपका वामपन्थी र हरित दलका लागि नयाँ राजनीतिक मोडल बन्न थालेको छ।

जर्मनीको ‘दी लिङ्के’ पार्टीकी ४५ वर्षीया वकिल एलिफ एराल्पले बर्लिनमा निजी कम्पनीको स्वामित्वमा रहेका करिब २ लाख २० हजार घर सार्वजनिक नियन्त्रणमा ल्याउने र भाडा नियन्त्रण गर्ने एजेन्डासहित चुनाव जितिन्। उनको पार्टीले २५.७ प्रतिशत मत पाएपछि जर्मन सञ्चारमाध्यमले उनलाई ‘बर्लिनकी ममदानी’ भन्न थालेका छन्।

बेलायतमा ग्रिन पार्टीका नेता ज्याक पोलान्सकीले वातावरणीय मुद्दालाई महँगी, घरभाडा र धनीमाथिको करसँग जोडेर ‘इको–पपुलिजम’को अवधारणा अघि सारेका छन्। उनको भिडियो टिमले ममदानीका सामाजिक सञ्जाल रणनीतिकारबाट प्रत्यक्ष सुझाव लिइरहेको छ। अक्टोबर ८ मा हुने लन्डनको होल्बोर्न उपनिर्वाचनमा ग्रिन पार्टीको मत १० प्रतिशतबाट बढेर ४० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

स्पेनमा आवास सङ्कट पनि प्रमुख राजनीतिक मुद्दा बनेको छ। म्याड्रिडमा ७० वर्षदेखि बस्दै आएकी ८७ वर्षीया मारिकर्मेन अबास्कललाई घरबाट निकालिएपछि भएको विरोध प्रदर्शनले आवास संकटलाई थप चर्चामा ल्याएको थियो। संसद्मा सरकारी प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री पेड्रो सान्चेजले नोभेम्बर २९ का लागि समयअगावै आमनिर्वाचन घोषणा गरेका छन्।

फ्रान्समा समाजवादी पार्टीका मेयर इम्यानुएल ग्रेगोयरले ६० हजार सस्ता घर निर्माण र खाली घरलाई सर्वसाधारणको पहुँचमा ल्याउने नीति अघि सारेका छन्। नेदरल्यान्ड्समा डी६६ पार्टीका नेता रोब येटनले ४ लाख घरको अभावलाई मुख्य मुद्दा बनाउँदै वार्षिक १ लाख नयाँ घर निर्माणको प्रतिबद्धता जनाएका छन्। उनको पार्टी २०२३ मा ९ सिटबाट बढेर २०२५ मा २६ सिट जित्न सफल भएको छ।

ममदानीको जितले युरोपका वामपन्थी र हरित दललाई परम्परागत राजनीतिक नाराभन्दा बाहिर निस्केर महँगी, घरभाडा, आवास र सर्वसाधारणको दैनिक खर्चजस्ता प्रत्यक्ष सरोकारका मुद्दामा केन्द्रित हुन नयाँ दिशा दिएको देखिन्छ।

प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com