काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन्।
महाधिवेशनअन्तर्गतको बन्दसत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले यसपटक पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशामाथि समेत गम्भीर छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताएका हुन्।
उनले विगतका महाधिवेशनका बन्दसत्रमा नीति, सिद्धान्त र भावी कार्यदिशाबारे पर्याप्त छलफल हुने नगरेको उल्लेख गर्दै यसपटक त्यस विषयमा बहस हुनु सकारात्मक भएको बताए।
‘मैले देखेको विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइनँ। त्यसकारण यो मेरो लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो,’ उनले भने, ‘यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु।’
आङ्देम्बेले महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिताले कांग्रेसले मुलुकको राजनीतिमा अझै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखाएको बताए।
‘उद्घाटन सत्रमा जुन राजनीतिक पार्टीहरू उपस्थित भए, त्यसले कांग्रेसले नै मुलुकको राजनीतिलाई मूल दिशानिर्देश गर्छ भन्ने प्रमाण हो,’ उनले भने।
उनले कांग्रेसप्रति सबै उमेर समूहका नागरिकको भरोसा बढ्दै गएको दाबी गरे। विगतमा कांग्रेसलाई ‘बूढाहरूको पार्टी’ भनेर टिप्पणी गरिए पनि अहिले युवादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका मानिस कांग्रेससँग जोडिएको उनको भनाइ थियो।
‘पहिले कांग्रेसलाई बूढाहरूको पार्टी भन्ने गरिन्थ्यो। तर आज १८ वर्षका युवा र युवतीहरूले भरिएको पार्टी बनेको छ,’ उनले भने, ‘आज कांग्रेसभित्र यति धेरै मानिसहरू छन्। यो पार्टी सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित भएको छ।’
मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै आङ्देम्बेले बहुमतको नाममा ‘अल्गोरिदम’ मार्फत सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजान खोजेको आरोप लगाए।
‘आज देशमा बहुमतको नाममा अल्गोरिदमले सत्तामा आएकाहरूले युक्रेन बनाउने दिशामा लगिरहेका छन्,’ उनले भने, ‘अब यही हलले यही नेतृत्वप्रति भरोसा गरेर जानुपर्छ। देश यहीँबाट बन्ने छ।’
उनले महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले कांग्रेसलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताए। पार्टीको नीति तथा विचारमा समयानुकूल परिवर्तन गर्दै कांग्रेसलाई थप प्रभावकारी राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
प्रकाशित मिति: २१ आश्विन २०८३, बुधबार












प्रतिक्रिया