काठमाडौं । तीनकुने घटनामा प्रहरीले तत्काल गरेको दाबीलाई राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले खण्डन गरेको छ। प्रहरीले घरको छतमा नचढेको र आकाशतर्फ प्रहार गरिएको अश्रुग्यास मञ्चमा पुगेको हुनसक्ने बताएको थियो। आयोगको अनुसन्धानले भने सुरक्षाकर्मीले घरको छतबाटै कार्यक्रमस्थलको मञ्चमा अश्रुग्यास प्रहार गरेको उल्लेख गरेको छ।

घटनापछि तत्कालीन नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले प्रहरी कुनै घरको छतमा नपुगेको र छतबाट अश्रुग्यास नहानिएको बताएका थिए। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका बेला अश्रुग्यास प्रहार गर्दा फरक ठाउँमा रहेका व्यक्तिलाई माथिबाट खसेजस्तो देखिएको उनको भनाइ थियो।

तर आयोगले गरेको अनुगमनमा सुरक्षाकर्मीले घरको छतबाट कार्यक्रमस्थलको मञ्चमा अश्रुग्यास प्रहार गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। अश्रुग्यास प्रहारपछि प्रदर्शनकारी थप उत्तेजित बनेको पनि आयोगले जनाएको छ।

त्यस्तै, प्रहरीले राष्ट्रिय गान बजिरहेको समयमा अश्रुग्यास प्रहार गरिएको भिडियो ‘डिपफेक’ भएको दाबी गरेको थियो। तथ्य जाँचबाट उक्त दाबी भ्रामक रहेको पुष्टि भएको थियो। घटनामा प्रहरीले ७४६ सेल अश्रुग्यास, १९२ ब्ल्याङ्क राउन्ड, दुई राउन्ड पेस्तोल र ५८ राउन्ड प्लास्टिकको गोली प्रहार गरेको आधिकारिक विवरण आयोगमा पेस गरेको थियो।

आयोगले लामो समयदेखि खरिद नगरिएका म्याद गुज्रिएका अश्रुग्यासका सेल अत्यधिक प्रयोग हुँदा प्रदर्शनकारी थप उग्र बनेको ठहर गरेको छ।

रेविका खत्री र उनका दाजु दिनेश खत्रीलाई गोली लागेको घटनामा पनि प्रहरीले ‘झुक्किएर गोली लागेको’ बताएको थियो। तर आयोगले प्रदर्शनस्थलभन्दा टाढा आफ्नो कामबाट फर्किरहेका निर्दोष नागरिकमाथि गोली चलाउनु चरम लापरबाही र मानव अधिकारको गम्भीर उल्लङ्घन भएको ठहर गरेको छ।

आयोगले घटनाका फिल्ड कमान्डर प्रहरी उपरीक्षक अपिलराज बोहोरा र सशस्त्र प्रहरीका एसपी शैलेश श्रेष्ठसहितका सुरक्षाकर्मीमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

पत्रकार सुरेश रजकको मृत्युको घटनामा पनि आयोगले थप अनुसन्धान गर्न निर्देशन दिएको छ। राजावादी समूहले दमकल अवरोध गरेको तथ्य देखिए पनि रजकको भिडियो क्यामेराको अवशेषसमेत फेला नपरेकाले घटना रहस्यमय रहेको भन्दै आयोगले सीआईबीमार्फत वैज्ञानिक अनुसन्धान गर्न भनेको छ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com