काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीमा कार्यरत वलीविरुद्ध आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार वलीले छुट जग्गा दर्ताका लागि आवश्यक सिफारिससहितको मिसिल तथा कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने र जग्गा दर्ताको काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस मागेका थिए।

घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने र दर्ता प्रक्रियामा सहजीकरण गर्ने प्रयोजनका लागि वलीले सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले वलीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै १० लाख रुपैयाँलाई बिगो कायम गरेको छ।

आयोगले वलीलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय तथा दफा ३ को उपदफा (१) बमोजिम बिगोबराबर जरिवाना गर्न मागदाबी गरेको छ।

सोही मागदाबीका साथ आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा वलीविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com