काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोगलाई अनिवार्य बनाउनुपर्ने बताएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा बिहीबार आयोजित त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवस बैठकको अध्यक्षता गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका हुन्।

उनले प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन–अध्यापन, परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन, मार्कसिट, ट्रान्सक्रिप्ट तथा प्रमाणपत्र वितरणसम्मका सबै प्रक्रिया निश्चित समयतालिकाअनुसार सञ्चालन गर्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए।

‘प्रवेश परीक्षा, विद्यार्थी भर्ना, अध्ययन–अध्यापनको समयावधि, प्रभावकारी आन्तरिक मूल्याङ्कन, अन्तिम परीक्षाको नतिजा प्रकाशन, मार्कसिट, ट्रान्सक्रिप्ट र प्रमाणपत्र वितरणको यथार्थ समयतालिका तय गरी प्रविधिको उच्चतम प्रयोगमार्फत विद्यार्थीलाई सेवा प्रवाह गर्न ठोस कार्ययोजना बनाएर अघि बढ्न सम्बन्धित पदाधिकारीलाई निर्देश गर्दछु,’ उनले भने।

शैक्षिक क्यालेन्डर प्रभावित हुने अवस्था आए त्यसको कारण र सुधारका लागि लाग्ने समयसमेत सार्वजनिक गर्नुपर्ने मन्त्री पोखरेलले बताए।

‘कुनै कारणले क्यालेन्डर प्रभावित भए त्यसको सार्वजनिक कारण र सुधारको समयसीमा पनि सार्वजनिक गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछु,’ उनले भने।

मन्त्री पोखरेलले विश्वविद्यालयको परीक्षा प्रणालीमा समेत सुधार आवश्यक रहेको बताए। विद्यार्थीले परीक्षामा कति लेख्यो भन्नेभन्दा उसले कति सिक्यो र त्यसलाई व्यवहारमा कसरी प्रयोग गर्न सक्छ भन्ने विषयलाई मूल्याङ्कनको आधार बनाउनुपर्ने उनको भनाइ थियो।

रटेर प्राप्त गरेको ज्ञानभन्दा समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक दक्षता विकास गर्ने गरी अध्यापन तथा अनुसन्धानलाई अघि बढाउन उनले प्राध्यापकहरूलाई आग्रह गरे।

‘परीक्षामा विद्यार्थीले कति लेख्यो मात्र होइन, उसले कति सिक्यो भन्ने पनि मापन गरौँ। अब रटेको ज्ञान होइन, समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक दक्षता विकास गर्न सक्ने गरी अध्यापन र अनुसन्धान कार्यमा संलग्न रहन सम्बन्धित प्राध्यापकज्यूहरूलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने।

देशका सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा प्राविधिक समस्याको समाधान खोज्ने गरी विश्वविद्यालयको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा समेत मन्त्री पोखरेलले जोड दिए।

‘नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा प्राविधिक समस्याको समाधान खोज्ने अनुसन्धानलाई विश्वविद्यालयले अझ प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘ज्ञान उत्पादन र त्यसको प्रयोगबीचको दूरी घटाउन सके मात्र विश्वविद्यालयको अनुसन्धानले राष्ट्रिय विकासमा थप प्रभावकारी योगदान दिन सक्छ।’

विश्वविद्यालयको समग्र सुधारको केन्द्रमा विद्यार्थीलाई राख्नुपर्ने मन्त्री पोखरेलले बताए। विद्यार्थीका गुनासा, आवश्यकता र आकांक्षा सुन्ने तथा तिनको प्रभावकारी समाधान गर्ने संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ थियो।

उनले कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नयाँ प्रविधिलाई चुनौतीका रूपमा मात्र नहेरी ज्ञान, अनुसन्धान र नवप्रवर्तनका लागि अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताए।

‘विश्वविद्यालयका सम्पूर्ण सुधारको केन्द्रमा विद्यार्थी हुनुपर्छ। विद्यार्थीका गुनासा, आवश्यकता र आकांक्षालाई सुन्ने तथा समाधान गर्ने प्रभावकारी संयन्त्र विकास गर्न आवश्यक छ,’ उनले भने, ‘कृत्रिम बुद्धिमत्तालगायत नयाँ प्रविधिलाई चुनौतीका रूपमा मात्र नभई ज्ञान र नवप्रवर्तनको नयाँ अवसरका रूपमा ग्रहण गर्दै यसको जिम्मेवार र नैतिक प्रयोगका लागि आवश्यक नीति तथा क्षमता विकास गर्नुपर्ने देखिन्छ।’

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई समयानुकूल सुधार गर्दै गुणस्तरीय शिक्षा, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com