काठमाडौं । जेनजी अभियन्ता तथा व्यवसायी संजोग उप्रेतीले सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षकप्रति प्रयोग गरेको भाषाशैलीप्रति आपत्ति जनाएका छन् ।

उप्रेतीले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भनेका छन्, ‘के सांसद पद गालीगलौजमा उत्रने लाइसेन्स हो ?’ उनले सुनार अभियन्ता मात्रै नभई सांसदसमेत भएकाले उनीबाट बढी मर्यादा, जिम्मेवारी र जवाफदेहिता अपेक्षित हुने बताएका छन् ।

नेपाल प्रहरीजस्तो व्यावसायिक तथा राज्यको महत्वपूर्ण सुरक्षा संगठनका प्रमुखमाथि निम्नस्तरको गालीगलौजमा उत्रिनु प्रश्न उठाउने अधिकार नभई संसदीय मर्यादामाथिकै प्रश्न भएको उप्रेतीको भनाइ छ ।

प्रहरी नेतृत्वमाथि प्रश्न उठाउन पाइने भन्दै उनले अनियमितता भए छानबिन र दोषी देखिए कारबाही हुनुपर्ने बताए । तर प्रमाणको ठाउँमा गाली र तर्कको ठाउँमा आक्रोश राखेर सिंगो संगठनलाई कमजोर बनाउने प्रयास स्वीकार्य हुन नसक्ने उनको टिप्पणी छ ।

उप्रेतीले आफूलाई अभियन्ता र गरिबको प्रतिनिधिका रूपमा प्रस्तुत गर्ने सांसदले आफ्नो जीवनशैलीबारे पनि जनताका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्। ‘एक लाख रुपैयाँ हाराहारीको सेवा–सुविधा पाउने सांसद गाडी, व्यक्तिगत सुरक्षाकर्मी, महँगा ब्रान्डका चस्मा, ४०–५० हजारका जुत्ता र महँगा कोट–लुगामा देखिँदा जनताले प्रश्न गर्न पाउने कि नपाउने?’ उनले प्रश्न गरेका छन् ।

अरूमाथि प्रश्न उठाउने अधिकार भए आफू पनि प्रश्नको कठघरामा उभिने साहस हुनुपर्ने उप्रेतीको भनाइ छ । ‘सांसद हुनु भनेको प्रश्नभन्दा माथि हुनु होइन । अभियन्ता हुनु भनेको आलोचनाभन्दा माथि हुनु होइन,’ उनले भनेका छन् ।

नेपाल प्रहरीमा कमजोरी भए सुधार र गलत गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उप्रेतीले संस्था नै कमजोर बनाउने नियतलाई सुशासनको नाम दिन नसकिने बताएका छन् ।

‘संस्था कमजोर बनाएर सुशासन बलियो हुँदैन । गाली गरेर लोकतन्त्र बलियो हुँदैन । र, दोहोरो मापदण्डबाट जनताको विश्वास जितिँदैन,’ उप्रेतीले भनेका छन् ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com