काठमाडौं । श्रीलङ्काकी पूर्वप्रथम महिला सिरान्ती राजापाक्षे सार्वजनिक कोषको एक करोड श्रीलङ्काली रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेकी छन्। उनी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेकी पत्नी हुन्।
श्रीलङ्काको भ्रष्टाचार निवारण आयोगका अनुसार सिरान्तीद्वारा सञ्चालित गैरसरकारी संस्था ‘सिरिलिया साभिया’ मार्फत सार्वजनिक रकम दुरुपयोग गरिएको आरोपमा अनुसन्धान भइरहेको छ। कोलम्बोस्थित लेडी रिडवे बाल अस्पतालका लागि सीटी स्क्यानर मेसिन खरिद गर्ने भन्दै सङ्कलन गरिएको रकम अस्पताललाई मेसिन उपलब्ध नगराई दुरुपयोग गरेको आरोप उनीमाथि छ।
अनुसन्धान अधिकारीहरूले किरुलापोनेस्थित निवासमा उनको बयान लिएपछि पक्राउ गरेका थिए। कोलम्बोको मुख्य मजिस्ट्रेट अदालतले उनलाई अक्टोबर १३ सम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।
सिरान्ती दुई दिनअघि मात्रै विदेशमा उपचार गराएर श्रीलङ्का फर्किएकी थिइन्। पक्राउ पर्नबाट जोगिन उनका वकिलहरूले अग्रिम जमानतका लागि निवेदनसमेत दिएका थिए।
महिन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काका राष्ट्रपति थिए। उनका भाइ गोटाबाया राजापाक्षेले सन् २०२२ को आर्थिक सङ्कट र जनआन्दोलनपछि राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। महिन्दाका छोरा तथा विपक्षी सांसद नमल राजापाक्षे पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा अभियुक्त रहेको समाचारमा उल्लेख छ।
राजापाक्षे परिवारले भने आरोपहरू अस्वीकार गर्दै राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिँदै आएको छ।
यसैबीच, भ्रष्टाचार निवारण आयोगले सार्वजनिक कोष दुरुपयोगको आरोपमा पूर्वविदेशमन्त्री रोहिता बोगोल्लागामालाई पनि हिरासतमा लिएको छ। सन् २००६ मा लगानी प्रवर्द्धन मन्त्री रहेका बेला लन्डनमा आयोजित कार्यक्रममा स्वीकृत सीमाभन्दा बढी सरकारी रकम खर्च गराएको आरोप उनीमाथि छ।
‘सिरिलिया साभिया’ प्रकरणमा कोष स्वीकृत गराउन संलग्न रहेको आरोपमा नेसनल सेभिङ्स बैंकका पूर्वअध्यक्ष प्रदीप करियावासम पनि पक्राउ परेका थिए। उनलाई भने पछि अदालतले धरौटीमा रिहा गरेको थियो।
प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया