एजेन्सी । कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना तीन नेता अभिजीत दिपके, सौरव दास र आशुतोष रांकालाई दिल्ली प्रहरीले हिरासतमा लिएको दाबी गरेको छ। पार्टीका अनुसार शनिबार दिल्ली विमानस्थलमा विमानभित्रैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सीजेपीले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार तीनै जना नेता मुम्बईबाट दिल्ली पुगेका थिए। अभिजीत दिपकेले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिरहेका बेला उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीको भनाइ छ।
पार्टीले प्रहरीको उक्त कदमको विरोध गर्दै यसलाई तानाशाही प्रवृत्तिको कारबाहीको संज्ञा दिएको छ। साथै, तीनै जना नेतालाई तत्काल र बिनासर्त रिहा गर्न माग गरेको छ।
‘यो कारबाही नागरिकको आवागमन स्वतन्त्रताको प्रत्यक्ष हनन हो,’ पार्टीले विज्ञप्तिमा भनेको छ।
यसअघि चर्चित युट्युबर ध्रुव राठी र सीजेपीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि प्रहरीले हिरासतमा लिएको खबर सार्वजनिक भएको थियो।
सीजेपीले शनिबार बिहान १० बजेदेखि दिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने आह्वान गरेको थियो। प्रमुख निर्वाचन आयुक्त ज्ञानेस कुमारले भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर मत चोरी गर्न सहयोग गरेको आरोप लगाउँदै पार्टीले उनको राजीनामा माग गरेको थियो।
प्रदर्शनको आह्वान र नेताहरूलाई हिरासतमा लिइएको घटनाबीच सम्बन्ध रहेकोबारे भने उपलब्ध विवरणमा थप स्पष्ट पारिएको छैन।
प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार












प्रतिक्रिया