काठमाडौं । चुमनब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीको बाढीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकोप्टर परिचालन गरिएको छ ।
गृहमन्त्री सुदन गुरुङ प्रभावित क्षेत्रमा हेलिकोप्टर परिचालन भइसकेको जानकारी दिए । नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा रहन पनि उनले आग्रह गरेका छन् ।
उनले भनेका छन्– ‘गोरखाको चुमनुब्री गाउँपालिका वडा नं। ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टरहरू घटनास्थलमा परिचालन भइसकेका छन्। ‘
आपतकालिन सहायताका लागि गृह मन्त्रालयको १२३४ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । साथै उनी प्रभावित क्षेत्रको अवस्था बुझ्न त्यसतर्फ जाने भएका छन् ।
आज बिहान आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।
चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।
प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार











प्रतिक्रिया