काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःसहयोगका काममा सक्रिय हुन पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लामिछानेले बाढीका कारण गोरखाको चुमनुब्री क्षेत्रमा भएको क्षति र महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले आफू मर्माहत भएको बताएका हुन्।
उनले बूढीगण्डकीमा आएको बाढीले चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम तथा धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको उल्लेख गरेका छन्।
‘आज बिहान बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्याएको र न्याक्चेत–फिलिम, धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ,’ उनले लेखेका छन्।
बाढीबाट प्रभावित सबै नागरिकप्रति सहानुभूति व्यक्त गर्दै लामिछानेले जोखिम अझै कायम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पूर्ण रूपमा पालना गर्न अपिल गरेका छन्।
‘बाढीको जोखिम अझै रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न अपिल गर्दछु,’ उनले भनेका छन्।
लामिछानेले विपद्का बेला प्रभावित नागरिकको उद्धारमा सरकार सक्रिय रहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग समन्वय गरेर राहत तथा आवश्यक सहयोगका काममा जुट्न रास्वपाका सदस्यहरूलाई निर्देशन दिएका छन्।
‘विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूको तत्काल उद्धारमा सरकार सक्रिय रूपमा लागिरहेकाले सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य साथीहरूलाई निर्देशन पनि दिन्छु,’ उनले लेखेका छन्।
प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार












प्रतिक्रिया