काठमाडौं । बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि फुटेको हुन सक्ने अनुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको उद्गमस्थल र आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी भारी वर्षा नभएको जनाएको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो। प्रारम्भिक सूचना र भू–उपग्रहका तस्बिरका आधारमा पहिरोले नदी थुनेर बनेको पानीको बहाव एक्कासि खुलेपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको उनले बताए।
बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित विशालनगरको स्याउली बजार र सुकुम्बासी बस्तीमा ठूलो क्षति पुर्याएको छ। दुवै क्षेत्रका करिब ६० घर पूर्ण रूपमा बगाएको जनाइएको छ।
बाढीले धादिङ र गोरखा जोड्ने ऐतिहासिक आरुघाटको पक्की पुलसमेत बगाएको छ। पुलको गोरखातर्फको आधा भाग पूर्ण रूपमा ढलेको छ भने धादिङतर्फको सडक क्षेत्रमा पनि व्यापक क्षति पुगेको छ।
बाढी प्रभावित तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ।
प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार












प्रतिक्रिया