काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। गृहमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।
गुरुङ नेपाल एयरलाइन्सको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएका हुन्। नयाँदिल्लीमा हुने बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।
बैठकमा क्षेत्रीय सुरक्षा सहकार्य, आतंकवाद नियन्त्रण, संगठित अपराध, सीमा व्यवस्थापन तथा कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय सुदृढ बनाउने विषयमा छलफल हुने कार्यसूची छ।
भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसहित अन्य सदस्य राष्ट्रका गृहमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
भारत भ्रमणअघि गुरुङले नेपाल–भारत व्यापार र सीमा व्यवस्थापनमा देखिएका व्यावहारिक समस्याबारे नेपाली उद्योगी–व्यवसायीसँग छलफल गरी सुझावसमेत संकलन गरेका थिए।
प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार











प्रतिक्रिया