काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवामा सफल हुन नैतिकता, निष्ठा, इमानदारी र अनुशासन अनिवार्य रहेको बताएका छन्। उनले कानुनको पालना गर्दै निष्पक्ष र जवाफदेही भएर काम गर्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री शाहले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे।
उनले शान्तिसुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकको स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी पूरा गर्दा कुनै पनि अनुचित प्रभाव वा भेदभावमा नपर्न प्रहरीलाई निर्देशन दिए। नागरिकको भावना बुझेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए।
प्रधानमन्त्री शाहले अपराध अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रभावकारी बनाउन सूचना प्रविधिको सदुपयोग आवश्यक रहेको बताए। प्रविधिको प्रयोगले अनुसन्धान छिटो र पारदर्शी बनाउनुका साथै घटनालाई समयमै नियन्त्रणमा लिन सहयोग पुग्ने उनको भनाइ थियो।
उनले प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै दीक्षित प्रहरी निरीक्षकहरूको सफल भविष्यको कामना गरे। समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए।
प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार












प्रतिक्रिया