काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट उत्पन्न तिक्तता अन्त्य गर्दै कांग्रेसलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले आफूलाई जिम्मेवारी सुम्पिने महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले सबैको साथ र सुझाव लिएर पार्टी निर्माणको अभियान अघि बढाउने बताएका हुन्।
महामन्त्रीमा प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गर्दै उनले आगामी दिनमा महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकका सल्लाह र सुझावलाई मार्गदर्शनका रूपमा आत्मसात् गर्ने उल्लेख गरेका छन्।
पौडेलले १५औँ महाधिवेशनमा व्यक्त भएको मतले पार्टीका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिएको बताएका छन्। आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रियाका रूपमा लिँदै उनले अब विगतका असमझदारी र तिक्तता बिर्सेर पार्टीलाई भावनात्मक रूपमै एकढिक्का बनाउनुपर्नेमा जोड दिएका छन्।
‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ उनले भनेका छन्।
कांग्रेसले विगतमा मुलुकका जटिल राजनीतिक तथा सामाजिक समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै पौडेलले बदलिँदो परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनका अनुसार वर्तमान राजनीतिक तथा आर्थिक चुनौतीको सामना गर्न सक्ने, आम नागरिकका समस्या र अपेक्षालाई सम्बोधन गर्ने तथा लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने पार्टी निर्माण गर्नु अहिलेको प्रमुख दायित्व हो।
कांग्रेसलाई नागरिकको सुखदुःखको साथी बनाउँदै जनजीविकाका सवालमा केन्द्रित, जनमुखी र भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ।
पार्टीको ऐतिहासिक योगदानलाई आत्मसात् गर्दै वर्तमान समयका आवश्यकता र नागरिकका अपेक्षाअनुसार संगठन तथा कार्यशैलीमा सुधार गर्नुपर्ने सन्देश दिँदै उनले एकता र रूपान्तरणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।
महामन्त्री पौडेलले १५औँ महाधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति पनि धन्यवाद व्यक्त गरेका छन्।
प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार











प्रतिक्रिया