काठमाडौं । सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाएको छ। सोमबार बिहानदेखि कार्यालय परिसरमा तैनाथ सुरक्षाकर्मी हटेपछि एमालेले आफ्नो सुरक्षा व्यवस्थाबारे आन्तरिक छलफल थालेको छ।

एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका पाँचदेखि छ जनासम्म सशस्त्र प्रहरी सोमबार बिहानदेखि त्यहाँ देखिएका छैनन्। तर, सुरक्षाकर्मी फिर्ता गर्ने निर्णयबारे पार्टी कार्यालयलाई कुनै औपचारिक पत्र प्राप्त नभएको उनले बताएका छन्।

‘कार्यालयलाई कुनै औपचारिक पत्र आएको छैन। पाँच–छ जना सुरक्षाकर्मी यहाँ खटिएका थिए। आज बिहान उनीहरू आफैँ यहाँबाट हटे,’ आचार्यले भने।

सुरक्षाकर्मी किन हटाइए भन्नेबारे आफूहरूलाई कुनै जानकारी नभएको उनको भनाइ छ। सरकारले पनि उनीहरूलाई फिर्ता बोलाउनुको कारणबारे सार्वजनिक रूपमा केही बताएको छैन।

यसअघि एमालेको केन्द्रीय कार्यालयको सुरक्षामा सशस्त्र प्रहरी खटिँदै आएका थिए। सुरक्षाकर्मी हटेपछि कार्यालयको सुरक्षा व्यवस्था कसरी सञ्चालन गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको आचार्यले जानकारी दिए।

एमाले केन्द्रीय कार्यालयबाट सशस्त्र प्रहरी फिर्ता भएसँगै राजनीतिक दलका कार्यालयलाई उपलब्ध गराइँदै आएको सरकारी सुरक्षा व्यवस्थाबारे पनि चासो उत्पन्न भएको छ। यद्यपि, सरकारले सुरक्षा व्यवस्था परिवर्तन गर्नुको कारण भने स्पष्ट पारेको छैन।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com