काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र अस्मिताको रक्षा तथा पुनःस्थापनाका लागि सडक आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताएका छन्। उनले सरकारको कार्यशैलीका कारण सडक संघर्षको परिस्थिति निर्माण भइरहेको दाबीसमेत गरेका छन्।

च्यासलमा आयोजित पार्टीका नवमनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले मुलुकमा लोकतान्त्रिक मूल्य र मान्यता कमजोर पारिएको आरोप लगाए। उनले लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि चुनौती उत्पन्न भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे।

‘अहिले नेपालमा लोकतन्त्र मासिएको छ, खुँडा चलाइएको छ। राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ,’ उनले भने, ‘यस्तो स्थितिमा यी चिजहरूको पुनःप्राप्ति अनिवार्य सर्त हो। बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसैलाई आन्दोलन भनिन्छ।’

आन्दोलनलाई तोडफोड, लुटपाट र आगजनीका रूपमा बुझ्न नहुने स्पष्ट पार्दै ओलीले निरस्त्र नागरिकमाथि संगठित शक्तिबाट हुने दमनविरुद्धको प्रतिरोध नै आन्दोलन भएको बताए।

अध्यक्ष ओलीले २०७७ सालदेखि एमाले समाप्त पार्ने प्रयास हुँदै आएको र त्यसले अझै निरन्तरता पाइरहेको आरोप लगाए। २०७८ सालमा पार्टी विभाजन गराइएको तथा २०७९ को निर्वाचनमा विभिन्न शक्ति एमालेविरुद्ध एकजुट भएको उनको भनाइ थियो।

‘हामीविरुद्धको घेराबन्दी अझै सिद्धिएको छैन, एकदमै चालु छ। सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने र जनताको नजरमा गिराउने दुष्प्रयास भइरहेको छ,’ उनले भने।

गत निर्वाचनमा विपक्षीहरूले गरेको षड्यन्त्र चिर्न नसक्दा पार्टी केही पछाडि परेको स्वीकार गर्दै ओलीले आगामी दिनमा यस्ता प्रयासलाई परास्त गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

समाजवादी आन्दोलन समाप्त पार्न खोज्नेहरूलाई ‘मूर्ख’ को संज्ञा दिँदै उनले कम्युनिस्ट आन्दोलन सत्य र न्यायको पक्षमा रहेको दाबी गरे।

ओलीले पार्टीका नयाँ केन्द्रीय सदस्यहरूलाई विगतको इतिहास र योगदानको आधारमा मात्रै अब पार्टीमा टिक्न नसकिने चेतावनीसमेत दिएका छन्।

पार्टीलाई थप सुदृढ बनाउन नयाँ जिम्मेवारी पाएका नेताहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। विगतको योगदानमा मात्र निर्भर नभई वर्तमान चुनौती सामना गर्न र पार्टीको पक्षमा प्रभावकारी काम गर्न उनले केन्द्रीय सदस्यहरूलाई आग्रह गरे।

प्रकाशित मिति: २६ आश्विन २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com