काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको छ। मंगलबार भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका पूर्वकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रन बनाए। अर्जुन कुमालले ४०, इशान पाण्डे र बसिर अहमदले समान ३७ तथा करण केसीले आक्रामक ४० रनको योगदान दिए। करणले १६ बलमा चार छक्का र एक चौका प्रहार गरे।

ओमानको इनिङ्स ध्वस्त पार्ने क्रममा नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान तीन विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चिए भने सन्दीपले नौ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिए।

ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। जय ओडेड्राले २५ र जतिन्दर सिंहले १८ रन जोडे।

जारी शृंखलामा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि नेपालले क्यानडालाई २४ रनले हराएको थियो। ओमानले भने यसअघि क्यानडालाई ४१ रनले पराजित गरेको थियो।

यस जितसँगै नेपालले लिग–२ तालिकामा ३४ खेलबाट २८ अंक जोडेको छ। ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ। नेपालले अब शनिबार क्यानडासँग खेल्नेछ।

प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com